नेभिगेशन

३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिँदै

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्ताव र अर्थ मन्त्रालयको स्वीकृतिका साथ स्वास्थ्य क्षेत्रमा ३५ वर्षपछि ९७७ नयाँ स्थायी पद थपिने भएको छ।

स्वास्थ्य मन्त्रालयले प्राविधिक र विशेषज्ञ जनशक्ति बढाउने उद्देश्यले दरबन्दी थप्न प्रस्ताव गरेको थियो। मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार, अर्थ मन्त्रालयको स्वीकृति पाएसँगै दरबन्दी थप प्रक्रिया अघि बढेको छ। मन्त्रीपरिषद्बाट अन्तिम स्वीकृति पाएपछि यी पदहरू कार्यान्वयनमा आउने छन्।

डा. देवकोटाले बताएअनुसार, नयाँ दरबन्दीले नेपालको सार्वजनिक स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नेपालमा स्वास्थ्य सेवाका स्थायी पद संरचना विगतमा, २०४८ सालमा निर्धारण गरिएको थियो। त्यसयता ३५ वर्ष भइसकेको छ, र अहिलेको जनसंख्यालाई हेर्दा पुरानो संरचनाले स्वास्थ्य सेवा संचालनमा चुनौती ल्याउँदै आएको थियो।

हाल देशको जनसंख्या लगभग तीन करोड पुगेको छ, जबकि पुरानो संरचना एक करोड ८० लाख जनसंख्याका लागि बनाइएको थियो। यस कारणले अस्पताल, स्वास्थ्य संस्था र विशेषज्ञ सेवामा जनशक्ति अभाव गम्भीर हुँदै गइरहेको छ। यसैबीच, पर्याप्त पारिश्रमिक नपाउँदा स्वास्थ्यकर्मीहरूको विदेश पलायन बढ्ने क्रम पनि तीव्र भएको छ।

सरकारले थप गर्ने पदहरूमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब प्राविधिक, मिडवाइफरी र अन्य स्वास्थ्य प्राविधिक पदहरू समावेश छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, नयाँ संरचनाले संघीय प्रणाली अन्तर्गत स्वास्थ्य सेवा सुधार्न ठूलो योगदान दिनेछ।

विशेष पदको विवरण अनुसार कन्सल्टेन्ट विशेषज्ञ चिकित्सक २४०, मेडिकल अधिकृत १८२, स्टाफ नर्स ४९७, मिडवाइफरी नर्स तथा नर्सिङ अधिकृत ३९ छन्। बाँकी पद प्राविधिक र अन्य स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्रहरूमा विभाजन हुनेछन्।

डा. देवकोटाले सरकारले स्वास्थ्य क्षेत्रको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखेर कदम चालेको बताउनुभयो। उहाँले स्वास्थ्य सेवा प्रणालीलाई समयअनुकूल र जनसंख्याको आवश्यकता अनुसार पुनर्संरचना गर्न जरुरी भएको उल्लेख गर्दै, दक्ष जनशक्ति व्यवस्थापन, तालिम, प्रविधि र सेवा गुणस्तर सुधारलाई पनि समान प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट