नेभिगेशन

गोरखाका दुई स्वास्थ्य केन्द्रमा प्रयोगशालाका लागि ८० लाखको सामग्री प्रदान

add final

नेपाल हेल्थ न्युज, गोरखा । समाजसेवी तथा युवा नेता प्रेमकुमार खत्रीको पहलमा गोरखाका दुई पालिकाका स्वास्थ्य केन्द्रमा सुविधासम्पन्न प्रयोगशालाका लागि अत्याधुनिक स्वास्थ्य उपकरण प्रदान गरिएको छ।

गोरखा नगरपालिका–२ को कोखेआहाले शहरी स्वास्थ्य केन्द्र र भिमसेन थापा गाउँपालिका–६ अश्राङस्थित शहिदस्मृति आधारभूत अस्पतालमा करिब ८० लाख रुपैयाँ मूल्यका आधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको जानकारी कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीले दिएका छन्।

श्राङस्थित शहिदस्मृति आधारभूत अस्पताललाई एक्स–रे (डीआर सिस्टम,) भिडिओ एक्स–रे मेसिन, ईसीजी मेसिन र फ्रिज लगायतका अत्याधुनिक डिजिटल प्रविधिका उपकरण उपलब्ध गराइएका छन्। त्यस्तै, कोखेआहाले शहरी स्वास्थ्य केन्द्रमा प्रयोगशाला स्थापनाका लागि आइएलआर मेसिन, यूएसजी मेसिन, इलेक्ट्रिक एनालाइजर र माइक्रोस्कोप जस्ता उपकरण प्रदान गरिएको छ।

यसको प्रभावले अब स्थानीय बासिन्दाले सामान्य स्वास्थ्य परीक्षण र रिपोर्टका लागि सदरमुकाम वा चितवन–काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ।

बुधबारको कार्यक्रममा सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीले सो सामग्री स्थानीय तह र स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा गोरखा नगरपालिका मेयर कृष्णबहादुर राना, उपमेयर सपना पुन, वडाध्यक्ष रहमतुल्ला मियाँ, भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद वञ्जारा र उपाध्यक्ष अमृता वस्तीको समेत उपस्थिती रहेको थियो।

उक्त अवसरमा पालिका प्रमुखहरूले आधुनिक स्वास्थ्य उपकरण र औषधिको सदुपयोग गरी छिट्टै सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, आगामी दिनमा समेत सम्भव नेपालसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने बताइएको छ।

त्यस्तै, आरुघाट गाउँपालिका–८ मा स्थानीय महिलाहरूको आर्थिक आत्मनिर्भरता र सक्रियतालाई प्रोत्साहन गर्न नयाँ सहकारी भवन पनि हस्तान्तरण गरिएको छ। तीन कोठे सुविधासम्पन्न भवन, शौचालय र आवश्यक फर्निचरसहितको भवन “सिता बचत तथा ऋण सहकारी संस्था”का लागि निर्माण गरिएको हो।

खत्रीले आफ्नो गृहजिल्लाका नागरिकको सेवामा समर्पित हुने अवसर पाउँदा अत्यन्त सन्तुष्टि भएको बताए र यस पहलले स्थानीयको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

यसअघि पनि खत्रीको पहलमा गोरखाका ११ स्थानीय तहले १३ वटा एम्बुलेन्स प्राप्त गरेका थिए भने आरुघाट आधारभूत अस्पतालमा झण्डै डेढ करोड लगानीमा अत्याधुनिक प्रयोगशाला स्थापना भई सञ्चालनमा रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट