नेपाल हेल्थ न्युज, बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा व्यवसायीले करिब ४० लाख रुपैयाँ बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।
लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू उपलब्ध गराएका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीले लायन्स क्लब अफ चितवन चौतारीले करिब २० लाख मूल्यका दुईवटा मेसिन सहयोग गरेको बताए । जसमा क्लिया मेसिन र पिटीरआइएनआर मेसिन रहेका छन् ।
क्लिया मेसिनमार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी–१२, पाठेघरको क्यान्सर (सिए १२५), प्रोस्टेटको क्यान्सर (पिएसए) लगायत विभिन्न प्रकारका हर्मोनजन्य समस्या परीक्षण गर्न सकिने डा. गिरीले जानकारी दिए ।
पिटीरआइएनआर मेसिनले रगत जम्नेसम्बन्धी र मुटुरोगी तथा सर्प वा अरिङ्गालले टोकेका बिरामीको परीक्षणमा समेत क्लिया मेसिन उपयोगी हुने बताइएको छ ।
यस्तै लोयल ट्रेडर्सले २० लाख मूल्यका अन्य उपकरण उपलब्ध गराएको अस्पतालले जनाएको छ । जसअन्तर्गत पूर्ण रूपमा स्वचालित जैविक रसायन (बायोकेमेस्ट्री) परीक्षण मेसिन र ‘हेमाटोलोजी एनालाइजर’ मेसिन रहेको अस्पतालले जनाएको छ ।
बायोकेमेस्ट्री मेसिनमार्फत कलेजो, मिर्गौला, युरिक एसिड, एमाइलेज, लाइपेजलगायतका परीक्षण गरिन्छ । यस्तै ‘सिबिसी एनालाइजर’ले शरीरमा रगतको मात्रा तथा रगतभित्र रहेका विभिन्न ‘सेल’हरूको विस्तृत परीक्षण गरी रोगको पहिचान गरिने सुपरिटेन्डेन्ट डा. गिरीले जानकारी दिए । रासस
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु
बिहीबार, वैशाख ३१, २०८३
बिहान तातो पानी पिउनु स्वास्थ्यका लागि कति राम्रो हो?
बिहीबार, वैशाख ३१, २०८३
गोरखाका दुई स्वास्थ्य केन्द्रमा प्रयोगशालाका लागि ८० लाखको सामग्री प्रदान
बिहीबार, वैशाख ३१, २०८३
निजामती कर्मचारीलाई राजनीति नगर्न सरकारको निर्देशन
बिहीबार, वैशाख ३१, २०८३

