नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारी अस्पतालहरूले करोडौं रुपैयाँ खर्चेर खरिद गरेका अत्याधुनिक स्वास्थ्य उपकरण वर्षौंदेखि प्रयोगविहीन अवस्थामा थन्किएका छन्। दक्ष जनशक्तिको अभाव, कमजोर व्यवस्थापन र गैरजिम्मेवार निर्णयका कारण राज्यको अर्बौं लगानी उपयोगविहीन बनेको छ।
महालेखा परीक्षकको ६३ औं प्रतिवेदनले राष्ट्रिय ट्रमा सेन्टरदेखि गजेन्द्र नारायण सिंह अस्पतालसम्मका महँगा उपचार उपकरण सञ्चालनमा नआएको तथ्य औंल्याएको छ।
प्रतिवेदनअनुसार, उपकरण खरिद गरिए पनि सञ्चालनका लागि आवश्यक जनशक्ति, तालिम र व्यवस्थापनको तयारी नगर्दा ती उपकरणहरू ‘कवाडी’ बनिसकेको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन २०७२ सालदेखि नै प्रयोगविहीन छ। दक्ष जनशक्ति नहुँदा करिब एक दशकदेखि मेसिन सञ्चालनमा आउन सकेको छैन। सेन्टरमै २४ करोड ७७ लाख ९ हजार रुपैयाँ मूल्यको सीटी स्क्यान, १४ भेन्टिलेटर र ५ सी–आर्म मेसिनसमेत प्रयोगविहीन अवस्थामा छन्।
त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७२ लाख ६० हजार रुपैयाँ मूल्यका लिड र ईसीजी केबलका ३०० सेट गोदाममै थन्किएका छन्। मधेस प्रदेशको गजेन्द्र नारायण सिंह अस्पतालमा ४ करोड ९० लाख ९५ हजार रुपैयाँ मूल्यका एक्स–रे मेसिन, इन्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन र इलेक्ट्रोकार्डियोलोजी उपकरण प्रयोगविहीन छन्।
सिंहदरबार वैद्यखाना विकास समितिमा ६० प्रकारका औषधि उत्पादन मेसिन प्रयोगमा नआएपछि सरकारी औषधि उत्पादन क्षमतामा पनि असर परेको छ। नेपाल प्रहरी अस्पतालमा १६ स्लाइसको सीटी स्क्यान र १.५ टेस्लाको एमआरआई मेसिन सञ्चालनमा आउन नसक्दा ती उपकरण प्रयोगविहीन छन्।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, उपकरण खरिद प्रक्रियामा कमिसन चलखेल भए पनि सञ्चालनका लागि आवश्यक जनशक्ति, तालिम र मर्मतसम्भारको योजना नबनाएको प्रवृत्तिले यस्तो अवस्था सिर्जना गरेको हो।
महालेखा परीक्षकको प्रतिवेदनले राज्यको ढुकुटीबाट गरिएको ठूलो लगानी खेर गएको र सर्वसाधारणले न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित भएको निष्कर्ष निकालेको छ।
सरकारी अस्पतालमा ९ करोडको म्याद नाघेका औषधि
शुक्रबार, जेठ १, २०८३
शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा
शुक्रबार, जेठ १, २०८३
आयुर्वेद विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय
शुक्रबार, जेठ १, २०८३
मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’
शुक्रबार, जेठ १, २०८३

