नेभिगेशन

दुर्घटना रोकथामका लागि ट्रमा सेन्टर र नीति आवश्यक: कार्की

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सडक दुर्घटनालाई ‘अघोषित महामारी’ भन्दै सरकारले तत्काल राष्ट्रिय ट्रमा नीति निर्माण गर्नुपर्ने आग्रह गरेकी छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले नेपालमा दैनिक औसत आठ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको र वर्षेनी करिब तीन हजार नेपालीको मृत्यु हुने गरेको बताइन्। सांसद कार्कीका अनुसार पछिल्लो १० वर्षमा सडक दुर्घटनाले २४ हजारभन्दा बढी नेपालीको ज्यान लिएको छ, जुन  महामारीमा भएको मृत्युको दोब्बर हो।

कार्कीले भनिन्, “सडक दुर्घटनामा मृतकको धेरै हिस्सा १५–४९ वर्ष उमेर समूहका युवा हुन्, जो देशको उत्पादनशील जनशक्तिमा पर्दछन्। एउटा परिवारको सदस्य गुम्दा परिवार मात्र नभई राष्ट्रको उत्पादक क्षमता पनि कमजोर हुन्छ।” उनले विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय अध्ययनका तथ्यांक उद्धृत गर्दै यसले नेपालको वार्षिक मा करिब ३ प्रतिशत नोक्सान पुर्‍याएको उल्लेख गरिन्।

सांसद कार्कीले हालको सडक सुरक्षा विधेयक अलपत्र परेको र पुरानो यातायात ऐनले हालको स्थिति सम्बोधन गर्न नसक्ने बताए। उनले ‘ट्रमा सेवा सञ्चालन निर्देशिका, २०७७’ पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताइन्।

सडक दुर्घटनापछि पहिलो एक घण्टालाई ‘गोल्डेन आवर’ भन्दै उनले यस समयमा प्रभावकारी उपचार सुरु गर्न सकिने भए धेरै जीवन बचाउन सकिने उल्लेख गरिन्। तर अधिकांश एम्बुलेन्स अझै साधारण सुविधा मात्र भएका कारण र योग्य प्यारामेडिक्सको कमीले उपचारमा चुनौती आएको उनले औंल्याइन्।

सांसद कार्कीले सातै प्रदेशमा चरणबद्ध रूपमा ट्रमा सेन्टर स्थापना गर्न, राजमार्ग आसपासका अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न र प्रत्येक ५–१० किलोमिटरमा ट्रमा रेस्पोन्स सेन्टर राख्न सुझाव दिइन्। उपचार खर्चको अभावले उपचार रोकिए नरोकिने व्यवस्था सुनिश्चित गर्न ‘ट्रमा फण्ड’ र विपन्न घाइतेलाई निस्शुल्क आपतकालीन उपचारको प्रबन्ध गर्नुपर्ने उनको माग थियो।

उनी सडक दुर्घटनालाई राष्ट्रिय जनस्वास्थ्य संकट घोषणा गरेर ‘नेशनल ट्रमा रजिस्ट्री’ स्थापना गर्न पनि जोड दिइन्। सांसद कार्कीले अन्ततः सरकारसँग भनिन्, “राज्यले सडक बनाउँछ, कर उठाउँछ, तर नागरिकको ज्यान जोगाउन नसक्ने हो भने यो केवल प्रशासनिक कमजोरी मात्र होइन, नैतिक र नीतिगत असफलता हो।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट