नेपाल हेल्थ न्युज, किन्शासा। अफ्रिकी देश कंगोमा इबोला भाइरसको संक्रमणको खतरा तीव्र गतिमा बढ्दै गएको छ । देशको पूर्वी क्षेत्रमा फैलिएको प्रकोप गम्भीर बन्दै जाँदा शंकास्पद संक्रमितहरूको संख्या ९ सय नाघेको छ । संक्रमण र मृत्युका घटनामा लगातार वृद्धि भएपछि स्वास्थ्य निकायहरूमा चिन्ता बढेको छ ।
कंगोको सञ्चार मन्त्रालयका अनुसार हालसम्म देशभर ९०४ वटा शंकास्पद इबोला संक्रमणका घटना दर्ता भएका छन् । साथै, ११९ शंकास्पद मृत्यु पनि रेकर्ड गरिएको मन्त्रालयले जनाएको छ । यसअघि ७०० भन्दा बढी संक्रमण र १७० जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको थियो ।
हाल पूर्वी कंगोको इटुरी प्रान्त संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । स्वास्थ्य एजेन्सीहरूका अनुसार यस पटकको प्रकोपको मुख्य कारण इबोलाको ‘बुन्डिबुग्यो स्ट्रेन’ रहेको अनुमान गरिएको छ । यो इबोलाको खतरनाक प्रकारमध्ये एक मानिन्छ । विशेष चिन्ताको विषय के छ भने यस स्ट्रेनविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन ।
यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कंगोको अवस्था गम्भीर रहेको भन्दै यसलाई देशका लागि ठूलो स्वास्थ्य चुनौतीका रूपमा व्याख्या गरेको छ । यद्यपि, हाल विश्वव्यापी रूपमा संक्रमण फैलिने जोखिम भने कम रहेको मूल्यांकन गरिएको छ ।
विशेषज्ञहरूका अनुसार कंगोमा इबोला संक्रमण तीव्र रूपमा बढ्नुले विश्व स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ । समयमै नियन्त्रण गर्न नसकिए संक्रमण सीमापार फैलिन सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ ।
बुन्डिबुग्यो स्ट्रेनविरुद्ध प्रभावकारी खोप अभाव, अफ्रिकी मुलुकहरूको यात्रामा बढ्दो सतर्कता तथा संक्रामक रोगहरू छोटो समयमै विश्वव्यापी संकट बन्न सक्ने सम्भावनाले इबोलाप्रति फेरि विश्वको ध्यान केन्द्रित भएको छ ।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

