नेपाल हेल्थ न्युज, काठमाडौं । देशकै सबैभन्दा पुरानो र ठूलो सरकारी अस्पतालमध्ये एक बीर अस्पतालमा विगत एक महिनादेखि सिटी स्क्यान सेवा अवरुद्ध छ । सरकारले नागरिकलाई 'गुणस्तरीय र सहज स्वास्थ्य सेवा' दिने प्रतिबद्धता दोहोर्याइरहेका बेला राजधानीकै केन्द्रीय अस्पतालमा आधारभूत जाँच सेवा बन्द हुँदा बिरामी र तिनका परिवार गम्भीर समस्यामा परेका छन् ।
टाउको दुख्ने, ब्रेन स्ट्रोकको शंका, दुर्घटना, आन्तरिक रक्तस्राव, क्यान्सर तथा जटिल रोगका बिरामीका लागि अत्यावश्यक मानिने सिटी स्क्यान सेवा बन्द भएपछि दैनिक सयौँ सेवाग्राही निजी अस्पताल धाउन बाध्य भएका छन् । आर्थिक रूपमा कमजोर बिरामीले सरकारी अस्पतालमा सस्तो उपचारको आशा राखे पनि अहिले उनीहरू निजी क्षेत्रको महँगो शुल्क तिर्न विवश छन् ।
अस्पतालमा उपचार गराइरहेका एक बिरामीका आफन्त भन्छन्- 'सरकारी अस्पतालमा आउनुको कारण खर्च धान्न सकिँदैन भनेर हो । तर यहाँ मेसिन बिग्रिएको भन्दै बाहिर पठाइन्छ । निजी अस्पतालमा एउटा सिटी स्क्यान गर्न ८–१० हजार रुपैयाँ लाग्छ । गरिब मान्छेले कहाँबाट ल्याउने ?'
'रेफर सेन्टर' आफैं उपकरणविहीन
बिर अस्पताललाई देशभरका जटिल बिरामीको “रेफर सेन्टर” मानिन्छ । तर, त्यही अस्पतालमा महत्वपूर्ण उपकरण लामो समयसम्म बिग्रिएर बस्नुले सरकारी स्वास्थ्य व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सिटी स्क्यानजस्ता संवेदनशील उपकरण बिग्रिनु अस्वाभाविक होइन, तर लामो समयसम्म मर्मत नहुनु व्यवस्थापन कमजोरी हो । सरकारी अस्पतालमा उपकरण खरिद गरिए पनि नियमित मर्मत, प्राविधिक व्यवस्थापन र वैकल्पिक योजना कमजोर हुँदा सेवा प्रभावित हुने गरेको उनीहरूको भनाइ छ ।
एक चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा भने-'आपतकालीन बिरामीको उपचारमा सिटी स्क्यान अत्यन्तै महत्वपूर्ण हुन्छ । समयमै रिपोर्ट नपाउँदा उपचार ढिलो हुन्छ । कतिपय अवस्थामा बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्छ ।'
आकस्मिक कक्षमा थपिएको दबाब
सिटी स्क्यान बन्द हुँदा सबैभन्दा ठूलो असर आकस्मिक कक्षमा परेको छ । दुर्घटना, ब्रेन ह्यामरेज, पक्षघात वा टाउकोमा चोट लागेका बिरामीलाई तत्काल सिटी स्क्यान आवश्यक पर्छ । तर अहिले बिर अस्पतालका चिकित्सकले बिरामीलाई बाहिर पठाउनुपर्ने अवस्था छ ।
यसले उपचार प्रक्रिया ढिलो हुनुका साथै बिरामी ओसारपसारको जोखिम पनि बढाएको चिकित्सकहरू बताउँछन् । अस्पताल परिसरबाहिर निजी डायग्नोस्टिक सेन्टर खोज्दै बिरामीका आफन्त भौतारिनु अहिले सामान्य दृश्य बनेको छ ।
उपकरण छ, सेवा छैन
नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा बजेट, भवन र उपकरण थपिएको सरकारी दाबी छ । तर सेवा निरन्तरताको सवालमा अवस्था अझै कमजोर देखिन्छ । धेरै सरकारी अस्पतालमा उपकरण बिग्रिएपछि महिनौँ थन्किने समस्या पुरानै हो ।
स्वास्थ्यकर्मीहरू भन्छन्- 'उपकरण खरिदलाई उपलब्धि मानिन्छ, तर त्यसको मर्मत र सञ्चालनलाई प्राथमिकता दिइँदैन ।'यही कारण बिर अस्पतालमा भएको सिटी स्क्यान अवरोधलाई धेरैले 'सिस्टम फेल' को उदाहरणका रूपमा व्याख्या गर्न थालेका छन् ।
नर्स जिता बरालको प्रश्न
यसै विषयलाई लिएर अभियन्ता नर्स जिता बरालले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी छन् । उनले प्रश्न गरेकी छन्—
'हामी गुणस्तरीय स्वास्थ्य सेवाको कुरा गर्छौं । तर देशकै ठूलो सरकारी अस्पतालमा एक महिनादेखि सिटी स्क्यान बिग्रिएको छ । आखिर कहिले बन्छ रु बिरामीले कहिलेसम्म दुःख पाउने र ?'
उनको यो प्रश्न अहिले धेरै नागरिकको साझा प्रश्न बनेको छ । स्वास्थ्य सेवा केवल नारा, योजना र भाषणमा सीमित रहने कि नागरिकले व्यवहारमै अनुभूति गर्ने रु भन्ने बहस फेरि एकपटक सतहमा आएको छ ।
स्वास्थ्य प्रणालीमाथि बढ्दो अविश्वास
सरकारी अस्पतालमा अत्यावश्यक सेवा नै अवरुद्ध हुँदा नागरिकको भरोसा क्रमशः निजी क्षेत्रतर्फ सर्दै गएको स्वास्थ्य विज्ञहरू बताउँछन् । तर निजी उपचार सबैको पहुँचमा छैन । परिणामतः आर्थिक रूपमा कमजोर वर्ग उपचारबाटै वञ्चित हुने जोखिम बढिरहेको छ ।
विशेषज्ञहरू भन्छन्- स्वास्थ्य सेवा केवल भवन र उपकरणले मात्र गुणस्तरीय हुँदैन । उपकरण बिग्रिए तुरुन्त मर्मत हुने प्रणाली, दक्ष जनशक्ति, उत्तरदायी व्यवस्थापन र सेवाको निरन्तरता नै वास्तविक गुणस्तरको मापन हो ।
देशको सबैभन्दा पुरानो सरकारी अस्पतालमै आधारभूत निदान सेवा एक महिनासम्म बन्द हुनु केवल प्राविधिक समस्या होइन, यो सार्वजनिक स्वास्थ्य प्रणालीको गहिरो संरचनागत संकटको संकेत पनि हो ।
उपभोक्ताको न्याय र चिकित्सकको आन्दोलन
आइतबार, असार २२, २०८२
आईभिएफ सेन्टरहरूलाई नियमनको जरुरी
आइतबार, चैत १७, २०८१
मुटुरोगलाई हेलचेक्र्याई नगरौं
आइतबार, चैत १७, २०८१


