नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन (एनआईसीआरएफ) ले स्वास्थ्य पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित ‘स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति’ (हेल्थ जर्नालिज्म फेलोसिप) घोषणा गरेको छ ।
फाउन्डेसनले एरिटी हेल्थसाइन्सेसको सहयोगमा सञ्चालन गर्न लागिएको ६ महिनाको फेलोसिपमार्फत स्वास्थ्य क्षेत्रका जटिल र जनचासोका विषयमा गहन अनुसन्धान तथा तथ्यमा आधारित पत्रकारितालाई प्रोत्साहन गरिने जनाएको छ ।
फेलोसिपको मुख्य उद्देश्य विश्वव्यापी रूपमा बढ्दै गएको वातावरणीय संकट, महामारीको जोखिम, घातक प्रदूषण तथा एन्टिमाइक्रोबियल प्रतिरोधजस्ता चुनौतीपूर्ण विषयमा खोजमूलक र जनहितमुखी पत्रकारिता प्रवर्द्धन गर्नु रहेको छ ।
फाउन्डेसनले जारी गरेको सूचनामा नेपालमा स्वास्थ्य पत्रकारिता अझै सीमित स्रोत, न्यून प्राथमिकता तथा संस्थागत सहयोगको अभावका कारण अपेक्षित रूपमा विकास हुन नसकेको उल्लेख गरिएको छ । पछिल्ला वर्षहरूमा पत्रकारिता क्षेत्रले भोगिरहेको आर्थिक तथा पेशागत संकटका कारण स्वास्थ्य पत्रकारिता थप चुनौतीपूर्ण बन्दै गएको पनि सूचनामा जनाइएको छ ।
फेलोसिपका लागि छनोट भएका पत्रकारलाई ६ महिनासम्म मासिक ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । फेलोसिप अवधिभर अध्येताले कम्तीमा दुईवटा गहन खोजमूलक समाचार सामग्री तयार गरी प्रकाशन वा प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रमअन्तर्गत डा. सुशील कोइराला, डा. उत्तम बाबु श्रेष्ठ, डा. युवराज आचार्य तथा सोनिया अवालेलगायतका विज्ञहरूले मेन्टरका रूपमा मार्गनिर्देशन प्रदान गर्नेछन् ।
यो अवसर नेपाली भाषामा लेख्ने तथा नेपालका सञ्चारमाध्यममा स्वास्थ्य पत्रकारितामा सक्रिय प्रारम्भिक वा मिड–करियर पत्रकारहरूका लागि लक्षित गरिएको आयोजकले जनाएको छ । आवेदनहरूको मूल्यांकन स्वास्थ्य र सञ्चार क्षेत्रका विज्ञहरूको स्वतन्त्र समूहले गर्नेछ ।
इच्छुक पत्रकारहरूले विगत दुई वर्षभित्र प्रकाशित वा प्रसारित आफ्ना उत्कृष्ट तीन सामग्री, आगामी ६ महिनाको कार्ययोजना तथा आफूले छनोट गरेको विषयमा अनुसन्धान गर्ने संक्षिप्त योजनासहितको कभर लेटर पेश गर्नुपर्नेछ ।
आवेदन दिने अन्तिम म्याद २०८३ असार १ गते दिउँसो १२ बजेसम्म तोकिएको छ । आवेदकहरूले आवश्यक सम्पूर्ण कागजात एउटै पीडीएफ फाइलमा राखी [email protected] मा इमेलमार्फत पठाउन सक्नेछन् ।
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३
भेरी अस्पतालमा शवगृह विस्तार गरिने
मंगलबार, भदौ ३०, २०८३
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३

