नेभिगेशन

शासकीय सुधारका सय कार्यसूची पूरा गर्न केन्द्रित छौं : मन्त्री मेहता

add final

नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यान्वयनमा आफ्नो मन्त्रालय पूर्ण रूपमा केन्द्रित रहेको बताएकी छन्।

आइतबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा मन्त्री मेहताले प्रधानमन्त्री बालेन शाहको निर्देशनअनुसार शासकीय सुधारका १०० कार्यसूची पूरा गर्ने लक्ष्यका साथ मन्त्रालयका सम्पूर्ण संयन्त्र परिचालित भएको जानकारी दिइन्।

उनले मन्त्रालयभित्र सुधार गर्नुपर्ने धेरै क्षेत्र रहेको स्वीकार गर्दै आगामी दिनमा ती सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताइन्।

‘हाम्रो मुख्य लक्ष्य नै शासकीय सुधारका १०० बुँदा कार्यान्वयन गर्नु थियो। सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट निर्देशन पनि यही भएकाले मन्त्रालयको सम्पूर्ण ध्यान त्यसैतर्फ केन्द्रित भयो,’ मन्त्री मेहताले भनिन्।

मन्त्री मेहताले सञ्चारकर्मीसँग नियमित संवाद हुन नसकेको स्वीकार गर्दै त्यसप्रति क्षमायाचना समेत गरिन्। अबदेखि सम्भव भएसम्म प्रत्येक १५ दिनमा पत्रकारहरूसँग भेटघाट गरी मन्त्रालयका गतिविधि तथा प्रगतिबारे जानकारी गराइने उनको भनाइ थियो।

‘प्रेस एडभाइजरी र नियमित संवादलाई समयमै निरन्तरता दिन सकिएन। यसमा हाम्रो ध्यान पुगेन। त्यसका लागि हामी क्षमाप्रार्थी छौं। अब हरेक १५ दिनमा पत्रकारसँग भेटघाट गर्ने प्रयास गर्नेछौं,’ उनले भनिन्।

उनले सञ्चारकर्मी, विज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्ने र त्यसका आधारमा नीतिगत तथा कार्यगत सुधार अघि बढाइने बताइन्।

‘सुधारका लागि धेरै सुझाव आएका छन्। हाम्रा कमीकमजोरी र सबल पक्ष के(के छन् भन्ने कुरा हामीले बुझेका छौं। ती सुझावलाई आत्मसात गर्दै मन्त्रालयलाई अझ प्रभावकारी बनाउने दिशामा अघि बढ्नेछौं,’ मन्त्री मेहताले भनिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट