नेभिगेशन

डा. प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा हाडजोर्नी उपचार, ट्रमा म्यानेजमेन्ट तथा नसा रोग सम्बन्धी सेवाहरूलाई थप सुलभ, गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पुर्‍याउने उद्देश्यले ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ। हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा सोसाइटीको नयाँ कार्यसमिति घोषणा गरिएको हो।

बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सोसाइटीको औपचारिक घोषणा गरिएको थियो। नवगठित सोसाइटीको संरक्षकमा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. रमेशप्रसाद सिंह रहनुभएको छ।

सोसाइटीको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्र के. दुवाल श्रेष्ठ, उपाध्यक्षमा डा. हेमन्त कुमार गुप्ता, महासचिवमा डा. विजयन्द्र अधिकारी, कोषाध्यक्षमा डा. आलोक पाण्डे, सहसचिवमा डा. पविन थापा तथा सह(कोषाध्यक्षमा डा. सन्जित झा चयन हुनुभएको छ।

त्यसैगरी कार्यसमितिका सदस्यहरूमा डा. सरोज सिंह, डा. ओमप्रकाश चौधरी, डा. राजिव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदिप खनाल र डा. सार्थक नेपाल रहनुभएको छ।

चिकित्सा क्षेत्रको प्राविधिक तथा वैज्ञानिक पक्षलाई थप सुदृढ बनाउन डा. रोहित श्रेष्ठको अध्यक्षतामा ‘साइन्टिफिक कमिटी’ समेत गठन गरिएको छ। कमिटीका सदस्यहरूमा डा. भाष्कर राज कार्की, डा. मनिष श्रेष्ठ र डा. विश्ववन्धु निरौला रहनुभएको छ ।

देशका सातै प्रदेशका चिकित्सकहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले कोशी प्रदेशबाट डा. रुपेश जंग वेलवासे, मधेश प्रदेशबाट डा. चन्द्रभुषण यादव, वागमती प्रदेशबाट डा. मनोज कँडेल, गण्डकी प्रदेशबाट डा. झपेन्द्र पोखरेल, लुम्बिनी प्रदेशबाट डा. प्रकृतिराज कँडेल, कर्णाली प्रदेशबाट डा. पुजन कुमार रोकाया तथा सुदूरपश्चिम प्रदेशबाट डा. मन्दिप पाठक प्रदेशगत प्रतिनिधिका रूपमा चयन हुनुभएको छ।

नवनियुक्त अध्यक्ष डा. प्रमोद लामिछानेले नेपालमा सडक दुर्घटना, कार्यस्थलमा हुने चोटपटक तथा विभिन्न विपद्का कारण ट्रमा (गम्भीर चोटपटक) का घटनाहरू बढ्दो क्रममा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा विशेषज्ञ चिकित्सकहरूलाई एउटै मञ्चमा ल्याउने संस्थाको आवश्यकता महसुस गरिएको बताउनुभयो।

उहाँले नवगठित सोसाइटीमा काठमाडौं उपत्यका तथा बाहिरका अधिकांश जिल्लाका सक्रिय हाडजोर्नी चिकित्सकहरूको सहभागिता रहेको जानकारी दिँदै विशेषज्ञहरूबीच अनुभव, ज्ञान तथा नवीनतम प्रविधिको आदानप्रदानलाई प्रभावकारी बनाउने लक्ष्यका साथ संस्था अघि बढ्ने बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट