नेपाल हेल्थ न्युज, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौँदेखि बिग्रिएर थन्किएका हेमोडायलासिस मेसिनहरू मर्मत गरी पुनः सञ्चालनमा ल्याइएपछि मिर्गौला रोगका बिरामीहरूलाई ठूलो राहत पुगेको छ।
मेसिन बिग्रिएपछि लामो समयदेखि बिरामीहरू डायलासिस सेवाका लागि पालो कुर्न बाध्य थिए। कतिपयले ओछ्यान अभावका कारण आकस्मिक कक्षमै डायलासिस गराउनुपर्ने अवस्था समेत भोग्दै आएका थिए। तर, बिग्रिएका पाँचवटा मेसिन मर्मत भएसँगै अब सेवा प्रवाह सहज बनेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार पोखराबाट हेमोडायलासिससम्बन्धी प्राविधिक विज्ञहरूको टोली बोलाएर मेसिनहरू मर्मत गरिएको हो। मर्मतपछि प्रतिष्ठानमा रहेका १६ मध्ये १५ वटा डायलासिस मेसिन पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
प्रतिष्ठानकी सूचना अधिकारी रमिता गौतमका अनुसार मेसिन सञ्चालनमा आएपछि थप बिरामीले नियमित रूपमा सेवा पाउन थालेका छन्। पहिले मेसिन अभावका कारण बिरामीहरूले लामो समय कुर्नुपर्ने अवस्था थियो, अहिले सेवा क्षमता बढेकाले उपचार पाउन सहज भएको छ, उनले बताइन्।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. रसाइली का अनुसार यसअघि आकस्मिक कक्षमा डायलासिस गराइरहेका २२ जना बिरामीमध्ये अधिकांशलाई नियमित सेवामा स्थानान्तरण गर्न सकिएको छ। अहिले आकस्मिक कक्षमा डायलासिस गराउने बिरामीको सङ्ख्या घटेर ३ जनामा झरेको छ।
मेसिन थप सञ्चालनमा आएपछि दैनिक ११ जना नयाँ बिरामीले नियमित डायलासिस सेवा पाउन थालेका छन्। हाल प्रतिष्ठानमा डायलासिस सेवा दैनिक तीन सिफ्टमा सञ्चालन भइरहेको छ। बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने सेवाबाट दैनिक ३३ जना बिरामी लाभान्वित भइरहेका छन् भने हाल ९१ जना मिर्गौला रोगी नियमित सेवामा आबद्ध छन्।
डायलासिस सेवालाई अझ प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन प्रतिष्ठानले नर्सिङ इन्चार्जसहित १८ जना नर्सिङकर्मीलाई विशेष तालिमसमेत प्रदान गरेको जनाएको छ।
वर्षौँदेखि प्रयोगविहीन बनेका मेसिन पुनः सञ्चालनमा आएपछि मिर्गौला रोगका बिरामीले समयमै उपचार पाउने वातावरण बनेको छ भने स्वास्थ्य संस्थामाथिको सेवाग्राहीको भरोसा समेत बढेको छ।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
