नेभिगेशन

काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिकाले साँघुरा सडक र बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ। आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यो व्यवस्था समेटिएको हो।

नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरभित्र निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइने र आपतकालीन सेवामा ‘बाइक एम्बुलेन्स’ थप प्रभावकारी विकल्पका रूपमा प्रयोग गरिने बताउनुभयो।

त्यसैगरी, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको क्षमता अभिवृद्धि गरी आधुनिक र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तार गरिने उल्लेख गरिएको छ। स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम र ध्यानसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

महानगरले मिर्गौला रोगीहरूको उपचार सहज बनाउन डायलाइसिस सेवाको विस्तार र सुदृढीकरण गर्ने योजना बनाएको छ। मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवामा विशेष कार्यक्रम सञ्चालन गर्ने तथा सार्वजनिक स्थानमा स्तनपान कक्ष स्थापना र व्यवस्थापनलाई प्राथमिकता दिने उल्लेख छ।

स्वास्थ्य संस्थाहरूको नियमित नियमन तथा अनुगमनमार्फत गुणस्तरीय सेवा सुनिश्चित गरिने महानगरले जनाएको छ। विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने नीति पनि समेटिएको छ।

यस्तै, गुणस्तरीय तथा विशिष्टीकृत सेवा प्रदान गर्न महानगर अस्पताल निर्माण गरिने घोषणा गरिएको छ। बदलिँदो जीवनशैलीका कारण बढ्दै गएको मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मनोपरामर्श सेवा तथा ‘कल सेन्टर’ सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।

ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा सेवा विस्तार तथा आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिने महानगरले जनाएको छ। यी कार्यक्रममार्फत नागरिकलाई सहज, पहुँचयोग्य र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट