नेपाल हेल्थ न्युज, काठमाडौं । आगामी २ र ३ अक्टोबरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा आयोजना हुने भएको छ। क्यान्सर उपचार तथा सचेतनासम्बन्धी अन्तर्राष्ट्रिय संस्था विनयताराले विगत ८ वर्षदेखि नियमित रूपमा यो सम्मेलन आयोजना गर्दै आएको हो।
सम्मेलनको वैज्ञानिक समितिले क्यान्सर तथा रक्तरोग (अन्कोलोजी र हेमाटोलोजी) सम्बन्धी नवीन अनुसन्धान, क्लिनिकल अनुभव तथा उपचार क्षेत्रमा भएका प्रगतिसम्बन्धी अब्स्ट्र्याक्ट (अनुसन्धान सारांश) पेश गर्न आह्वान गरेको छ। अनुसन्धानकर्ता, चिकित्सक, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूले अब्स्ट्र्याक्ट पेश गर्न सक्नेछन्।
मौलिक अनुसन्धान, गुणस्तर सुधार परियोजना, उपचार परिणामसम्बन्धी अध्ययन, शैक्षिक अनुसन्धान तथा क्यान्सर र रक्तरोगसम्बन्धी दुर्लभ केस रिपोर्ट वा केस सिरिजलाई यसमा समावेश गर्न सकिने आयोजकले जनाएको छ।
दुर्लभ केस रिपोर्ट वा केस सिरिजलाई विशेष प्राथमिकता दिइनेछ। उत्कृष्ट १५ वटा अब्स्ट्र्याक्ट छनोट गरी प्रत्येकलाई १५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिनेछ। छनोट भएका लेखकहरूले सम्मेलनमा दर्ता गरी आफ्नो अध्ययन प्रस्तुत गर्नुपर्नेछ।
अब्स्ट्र्याक्ट बुझाउने अन्तिम मिति ७ अगस्ट तोकिएको छ। स्वीकृतिको जानकारी अन्तिम मितिपछि करिब दुई साताभित्र दिइनेछ। अब्स्ट्र्याक्ट अनिवार्य रूपमा अंग्रेजी भाषामा तयार गर्नुपर्नेछ र शीर्षक, लेखक तथा संस्थागत विवरण बाहेक अधिकतम ३०० शब्दमा सीमित हुनुपर्नेछ। मौलिक अनुसन्धानमा पृष्ठभूमि, विधि, नतिजा र निष्कर्ष समावेश गर्नुपर्नेछ भने केस रिपोर्ट तथा केस सिरिजमा पृष्ठभूमि, छलफल र निष्कर्ष उल्लेख गर्नुपर्नेछ।
सबै प्रस्तुति वैज्ञानिक समितिद्वारा पियर–रिभ्यु प्रक्रियामार्फत मूल्यांकन गरिनेछ, जसमा वैज्ञानिक गुणस्तर, मौलिकता, क्लिनिकल सान्दर्भिकता, शैक्षिक महत्त्व तथा समग्र प्रस्तुतीकरणलाई आधार बनाइनेछ।
स्वीकृत अब्स्ट्र्याक्टहरूलाई मौखिक वा पोस्टर प्रस्तुति रूपमा सम्मेलनमा प्रस्तुत गर्ने अवसर दिइनेछ। विनयतारा सन् २००७ मा क्यान्सर विशेषज्ञ डा. विनय शाह र उनकी पत्नी तारा शाहद्वारा अमेरिकामा स्थापना गरिएको अन्तर्राष्ट्रिय गैर–नाफामूलक संस्था हो। यसको उद्देश्य क्यान्सरसम्बन्धी स्वास्थ्य असमानता घटाउनु र विश्वभर गुणस्तरीय उपचारमा पहुँच विस्तार गर्नु रहेको छ।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
