नेपाल हेल्थ न्युज, चितवन । देशका विभिन्न जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण देखिएपछि उपभोक्तामा कुखुराको मासु र अण्डा सेवनबारे अन्योल बढिरहेका बेला विज्ञहरूले राम्ररी पकाएर खाँदा संक्रमणको जोखिम नहुने स्पष्ट पारेका छन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति तथा बर्डफ्लु विज्ञ प्रा.डा. होमबहादुर बस्नेतका अनुसार बर्डफ्लुको भाइरस काँचो मासुमा रहने सम्भावना भए पनि पर्याप्त तापक्रममा पकाएपछि भाइरस नष्ट हुने भएकाले पकाएको मासु र अण्डा सुरक्षित रूपमा सेवन गर्न सकिन्छ।
उनले काँचो मासु राखिएको भाँडा र प्रयोग गरिएका सामग्रीलाई भने विशेष सावधानीका साथ सफा गर्नुपर्ने बताए। उनका अनुसार तातोपानी र सरसफाइका उचित विधि अपनाउँदा ती सामग्रीलाई संक्रमणमुक्त बनाउन सकिन्छ।
प्रा.डा. बस्नेतले बर्डफ्लुको भाइरस उच्च तापक्रममा नष्ट हुने भएकाले राम्ररी पकाइएको मासुबाट मानिसमा संक्रमण फैलिने जोखिम अत्यन्त न्यून रहेको बताए। साथै, बर्डफ्लु संक्रमित कुखुराले सामान्यतया अण्डा नपार्ने र संक्रमण पुष्टि भएपछि सबै कुखुरा नष्ट गरिने भएकाले संक्रमित कुखुरा वा अण्डा बजारमा पुग्ने सम्भावना पनि कम हुने उनको भनाइ छ।
उनले किसानलाई कुखुरामा बर्डफ्लुको लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराई संक्रमित कुखुरा नष्ट गर्न आग्रह गरे। सरकारले क्षतिपूर्तिको व्यवस्था गरेकाले संक्रमण लुकाएर बजारमा पठाउनु नहुने उनको जोड छ।
नेपालमा काँचो मासु खाने चलन नरहेकाले पनि मानिसमा बर्डफ्लुको संक्रमण हुने जोखिम तुलनात्मक रूपमा कम छ, उनले भने। यस्तै, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले हाल चितवन र आसपासका क्षेत्रमा बर्डफ्लुको संक्रमण नदेखिएको जानकारी दिए। उनका अनुसार चितवनसहित छिमेकी २२ जिल्लाबाट नियमित रूपमा नमूना परीक्षणका लागि आउने गरेको र जिल्लामा पछिल्लोपटक गत जेठ महिनामा मात्रै संक्रमण पुष्टि भएको थियो।
विज्ञहरूले उपभोक्तालाई अनावश्यक हल्लाको पछि नलागी कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर, सरसफाइका मापदण्ड अपनाएर सेवन गर्न आग्रह गरेका छन्।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
