नेभिगेशन

स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल,दोषीलाई कारबाही गर्ने मन्त्रालयको प्रतिबद्धता

नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्ला केही दिनयता चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यस्ता घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित सरकारी निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार स्वास्थ्य सेवा जीवनरक्षक, अत्यावश्यक तथा संवेदनशील सेवा भएकाले यसको निरन्तरता कुनै पनि अवस्थामा प्रभावित हुन नहुने बताइएको छ।

नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नुका साथै स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार रहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सा पेशाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै उपचार सेवामा कुनै अवरोध नआउने वातावरण सिर्जना गर्न र स्वास्थ्य सेवा निर्वाध रूपमा सञ्चालन गर्न सबै अस्पताललाई अपिल गरेको छ।

साथै, स्वास्थ्य सेवा प्रवाहमा सहयोग, सहजीकरण तथा समन्वय गर्न सम्बन्धित सबै निकायसँग पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा प्रवाहमा सबैले सहयोग गरौं भन्ने सन्देशसहित स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट