नेभिगेशन

नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु

नेपाल हेल्थ न्युज, काठमाडौं । नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता नर्स ज्योति रानाभाटले आजदेखि नेपाल नर्सिङ परिषद्को परिसरमा अनिश्चितकालीन सत्याग्रह (अनशन) सुरु गरेकी छन्।

नर्सिङ पेशामा व्याप्त बेथिति, विभेद, अन्याय, श्रमशोषण तथा भ्रष्टाचारविरुद्ध विगत करिब एक दशकदेखि संघर्ष गर्दै आएकी रानाभाटले सरकारले पटक–पटक गरेका सहमति र निर्णय कार्यान्वयन नगरेपछि आन्दोलनलाई पुनः सशक्त बनाउँदै अनशन सुरु गरेको बताएकी छन्।

यसअघि उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा १५ बुँदे मागपत्र बुझाउँदै मागहरूको तत्काल कार्यान्वयन गर्न आग्रह गरेकी थिइन्। साथै, माग सम्बोधन नभए आजदेखि नेपाल नर्सिङ परिषद्को परिसरमा अनिश्चितकालीन सत्याग्रह सुरु गर्ने घोषणा गरेकी थिइन्।

अनशन सुरु गर्दै रानाभाटले नर्सहरूको सम्मानजनक पारिश्रमिक, सुरक्षित कार्य वातावरण, गुणस्तरीय नर्सिङ शिक्षा तथा पेशागत अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन्। उनले सरकारले विगतमा नर्सहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि ती सहमति कार्यान्वयन हुन नसक्दा पुनः आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख गरिन्।

पटक–पटक जीवित लास बनेका नर्सहरूको आवाज कसैले सुनेन। नर्सलाई सम्मानजनक पारिश्रमिक दिन सरकार र स्वास्थ्य संस्थाहरू तयार देखिएनन्। त्यसैले अब निर्णायक आन्दोलनमार्फत नर्सहरूको अधिकार, सम्मान र जिम्मेवारीसहितको पेशागत हैसियत स्थापित गरेरै छाड्ने प्रण गरेकी छु, रानाभाटले भनिन्।

उनका अनुसार यो आन्दोलन व्यक्तिगत स्वार्थका लागि नभई सम्पूर्ण नर्सिङ समुदाय, बिरामीको सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा तथा नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि गरिएको हो।

अभियानले सरकारसँग १५ बुँदे माग तत्काल कार्यान्वयन गर्न, नर्सिङ पेशाप्रतिको विभेद अन्त्य गर्न, नेपाल सरकार सरह तहगत पारिश्रमिक सुनिश्चित गर्न, सुरक्षित कार्य वातावरण सिर्जना गर्न तथा नर्सिङ शिक्षा र सेवामा देखिएका संरचनागत समस्या समाधान गर्न माग गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ