नेपाल हेल्थ न्युज, काठमाडौं। रगतको अभावका कारण उपचार प्रभावित हुने अवस्थालाई कम गर्ने उद्देश्यले चिरायु अस्पताल र लायन्स क्लब अफ काठमाडौं न्यु रोयल सिटीले संयुक्त रूपमा रक्तदान कार्यक्रम आयोजना गरेका छन्। सामाजिक सेवालाई प्राथमिकतामा राख्दै दुवै संस्थाले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
लायन्स क्लब अफ काठमाडौं न्यु रोयल सिटीकी अध्यक्ष कल्पना श्रेष्ठका अनुसार कार्यक्रमको मुख्य उद्देश्य रक्त अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हो।
लायन्सको मूल उद्देश्य नै सामाजिक सेवा हो। एउटा थोपा रगतले पनि कसैको जीवन बचाउन सक्छ भने हामी किन पछि हट्ने उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रारम्भिक रूपमा ५० युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको छ। इच्छुक दाताहरूको सहभागिताअनुसार यो संख्या अझ बढ्न सक्ने आयोजकको अपेक्षा छ।
संकलित सम्पूर्ण रगत कीर्तिपुरस्थित शिक्षण अस्पतालको ब्लड बैंकमा पठाइनेछ। आवश्यकता पर्दा बिरामीलाई सोही ब्लड बैंकमार्फत रगत उपलब्ध गराइने जानकारी आयोजकले दिएका छन्।
श्रेष्ठका अनुसार लायन्स क्लबले रक्तदान अभियान मात्र होइन, आँखा परीक्षण शिविर, मधुमेह परीक्षण, वृक्षारोपणलगायत विभिन्न सामाजिक कार्यक्रम पनि नियमित रूपमा सञ्चालन गर्दै आएको छ। नयाँ लायन वर्ष सुरु भएसँगै यस्ता अभियानहरू निरन्तर सञ्चालन गरिने उहाँले बताउनुभयो ।
सामाजिक सेवा चिरायुको प्राथमिकता
चिरायु अस्पतालका अपरेसन डाइरेक्टर चण्डेश्वर वैद्यले अस्पतालले उपचार सेवा मात्र नभई सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार चिरायु अस्पतालले हरेक वर्ष कम्तीमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ। यसका अतिरिक्त विभिन्न संघसंस्था तथा स्थानीय तहसँग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम र विपद्का समयमा आवश्यक सहयोग पनि उपलब्ध गराउँदै आएको छ।
यसपटकको रक्तदान कार्यक्रम लायन्स क्लब अफ काठमाडौं न्यु रोयल सिटीसँगको सहकार्यमा आयोजना गरिएको उहाँले जानकारी दिनुभयो। भविष्यमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिइने उनको भनाइ छ।
वैद्यका अनुसार अस्पतालले काठमाडौंका विभिन्न वडासँग समन्वय गरेर स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानलाई पनि निरन्तर अघि बढाइरहेको छ।
रक्तदानः जीवन बचाउने सरल माध्यम
नेपालमा विभिन्न दुर्घटना, शल्यक्रिया, प्रसूति तथा दीर्घरोगका बिरामीका लागि दैनिक ठूलो परिमाणमा रगत आवश्यक पर्ने भएकाले नियमित रक्तदान अभियानको महत्त्व बढ्दो छ।
आयोजक संस्थाहरूले स्वस्थ व्यक्तिलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै, रक्तदान जीवनदान भन्ने अभियानलाई अझ व्यापक बनाउन सबैको सहभागिता आवश्यक रहेको बताएका छन्।
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
बिहीबार, साउन २८, २०८३
चिकित्सा शिक्षा संघर्ष अभियानको आह्वानमा मेडिकल कलेजअगाडि धर्ना
बिहीबार, साउन २८, २०८३
कङ्गोमा फैलिएको इबोला प्रकोप इतिहासकै घातक बन्ने डब्ल्यूएचओको चेतावनी
बिहीबार, साउन २८, २०८३
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा कानुन संशोधनका लागि कार्यदलको प्रतिवेदन पेस
बिहीबार, साउन २८, २०८३
