नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने हिंसात्मक घटना र आक्रमण नियन्त्रण गर्न सरकारले सजायको दायरा कडा बनाउँदै नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ को पहिलो प्राथमिकतामा राख्दै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गरेको हो।
प्रस्तावित नयाँ विधेयकमा गम्भीर प्रकृतिका कसुर गर्नेलाई २ वर्षदेखि ५ वर्षसम्म कैद र २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरिएको छ। यसअघि कैद वा जरिबानामध्ये एक मात्र हुन सक्ने विकल्प रहेकोमा अब कसूरदारले कैद र जरिबाना दुवै भुक्तान गर्नुपर्ने बाध्यकारी प्रावधान राखिएको छ।
विधेयकले स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्था विरुद्ध हुने हिंसा, हातपात, हतियारसहितको आपराधिक बल प्रदर्शन तथा यस्ता कार्य गर्न भड्काउने वा दुरुत्साहन गर्ने कार्यलाई गम्भीर अपराधका रूपमा परिभाषित गरेको छ।
अन्य सानाठूला आपराधिक कार्यमा पनि कसूरको मात्रा हेरेर १ देखि ३ वर्षसम्म कैद र १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबानाको सजाय तोकिएको छ।
नयाँ संशोधन विधेयकले कानुनी सुरक्षाको दायरालाई समेत व्यापक बनाएको छ। अब अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र कर्मचारीका साथै अध्ययनरत प्रशिक्षार्थी (इन्टर्न) विद्यार्थीहरूलाई समेत यो सुरक्षाको दायरामा ल्याइएको छ।
यसका साथै, स्वास्थ्यकर्मीहरूको भौतिक र आर्थिक सुरक्षाका अलावा मानसिक तथा मनोसामाजिक सुरक्षालाई समेत ऐनमा पहिलो पटक समावेश गरिएको छ।
नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हकको संरक्षण गर्दै स्वास्थ्यकर्मीहरूलाई भयमुक्त वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न यो कडा कानुन ल्याइएको मन्त्रालयले जनाएको छ। ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका, कार्यविधि र मापदण्ड बनाउने अधिकार समेत प्रत्यायोजन गरिएकाले यसले स्वास्थ्य क्षेत्रमा हुने अशान्ति र आक्रमणका घटनालाई पूर्ण रूपमा नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशकमा बन्दना थापा
बुधबार, असोज ७, २०८३
जलन उपचार प्रभावकारी बनाउन ३० दिने विशेष तालिम सुरु
बुधबार, असोज ७, २०८३
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग
मंगलबार, असोज ६, २०८३
