नेभिगेशन

आन्दोलनरत चिकित्सकको माग पूरा गर्न पिपुल्स डेन्टल कलेज प्रशासनलाई चिकित्सक संघको आग्रह

नेपाल हेल्थ न्युज, काठमाडौं । सेवासुविधा तथा श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौंस्थित पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटलमा कार्यरत चिकित्सक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

कार्यालय समय, पारिश्रमिक, भत्ता, बिदालगायतका सेवासुविधाका विषयमा पटक–पटक माग राख्दा कलेज प्रशासनले बेवास्ता गरेको भन्दै चिकित्सक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।

घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अनुसार कलेज प्रशासनले चिकित्सक तथा कर्मचारीहरूको पारिश्रमिक, भत्ता, कार्यालय समय र बिदालगायतका सेवासुविधाको उचित व्यवस्थापन नगरेको जनाएको छ।

नेपाल चिकित्सक संघले प्रचलित कानुन तथा श्रम ऐनविपरीत चिकित्सक तथा कर्मचारीसँग आवश्यक संवाद र सहमति नगरी एकतर्फी रूपमा बढी समय काम गराउने निर्णय जारी गरिएको दाबी गरेको छ।

संघले प्रशासनको उक्त कदमप्रति आपत्ति जनाउँदै खेद व्यक्त गरेको छ। संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा कलेजमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरिएको छ। विज्ञप्तिमार्फत संघले आन्दोलनरत चिकित्सक तथा कर्मचारीसँग अविलम्ब उचित संवाद गरी उनीहरूका माग सम्बोधन गर्न कलेज प्रशासनसँग माग गरेको छ।

साथै, चिकित्सक तथा कर्मचारीले सहज र सुरक्षित वातावरणमा काम गर्न सक्ने अवस्था निर्माण गर्नसमेत संघले जोड दिएको छ। समस्या समाधानका लागि कलेज प्रशासन र आन्दोलनरत चिकित्सक तथा कर्मचारीबीच तत्काल वार्ता र सहमतिको वातावरण बनाउनुपर्नेमा संघले जोड दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ