नेभिगेशन

स्वास्थ्य बीमा बोर्डले गर्‍यो अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा सेवा प्रदायक स्वास्थ्य संस्थाले गरेको दाबीमध्ये स्वीकृत रकम भुक्तानी गरेको छ।

बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को भुक्तानी दिन बाँकी दाबी रकम करिब १४ अर्ब ५१ करोड ५ लाख ९२ हजार रुपैयाँ अनुमान गरिएकोमा दाबी रुजु गर्दा ११ अर्ब ५३ करोड १५ लाख ९२ हजार ६० रुपैयाँ ३९ पैसा भुक्तानीयोग्य रकम स्वीकृत भएको थियो।

बोर्डको २०८३ असोज ६ गतेको निर्णयअनुसार आर्थिक वर्ष २०८२/८३ को माघदेखि असार मसान्तसम्मका ६७ हजार ९६७ दशमलव ४२ वटा दाबीमध्ये को–पेमेन्टबापतको ८६ करोड ४६ लाख ८३ हजार २६१ रुपैयाँ ५९ पैसा कटाएर १० अर्ब ७० करोड ६४ लाख २४ हजार ४७४ रुपैयाँ ७७ पैसा दाबी रुजु गरिएको थियो। रुजुका क्रममा अस्वीकृत भएको ४५ करोड ८४ लाख ४ हजार १८३ रुपैयाँ ३८ पैसा कट्टा भएपछि १० अर्ब २४ करोड ८० लाख २० हजार २९१ रुपैयाँ ३९ पैसा कायम भएको बोर्डले जनाएको छ।

यसमा गत वर्ष नेपाल सरकारबाट सोधभर्ना प्राप्त हुने गरी बोर्डको निर्णयअनुसार खर्च भएको १ अर्ब २८ करोड ३५ लाख ७१ हजार ७६९ रुपैयाँसमेत जोड्दा कुल स्वीकृत रकम ११ अर्ब ५३ करोड १५ लाख ९२ हजार ६० रुपैयाँ ३९ पैसा पुगेको हो।

बोर्डका अनुसार हालसम्म कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ११ अर्ब ९२ करोड २ लाख ७९ हजार ६०० रुपैयाँ निकासा भएकोमा यसअघि ९ अर्ब २३ करोड ८५ लाख ४२ हजार ४३७ रुपैयाँ २२ पैसा भुक्तानी भइसकेको थियो।

त्यसमध्ये २०८३ असार महिनाको रुजु भई सूचना प्रविधि शाखाबाट पेश भएका स्वीकृत दाबी रकममध्ये ९९ करोड ९८ लाख ५४ हजार २६३ रुपैयाँ ६७ पैसा भुक्तानी हुन बाँकी रहेको थियो। उक्त रकमबाट ११ वटा संस्थाको पेश्की बाँकी रकम ३० हजार ३९१ रुपैयाँ २० पैसा, खाता नम्बर नभएका पाँच संस्थाको २ लाख ४९ हजार ९१ रुपैयाँ ११ पैसा तथा बोर्डको निर्णयअनुसार रोक्का राखिएका दुई संस्थाको २२ लाख ९९ हजार ४९७ रुपैयाँ ७ पैसा कट्टा गरिएको थियो।

यसरी असार महिनाको कुल स्वीकृत भुक्तानी रकम ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा कायम भएको बोर्डले जनाएको छ। स्वास्थ्य बीमा बोर्डको २०८१ चैत १९ गतेको बोर्ड बैठकले दाबी भुक्तानीका लागि स्वीकृत रकमको २ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०८३ असोज ६ गतेको निर्णयबाट १ करोड ९९ लाख ४५ हजार ५०५ रुपैयाँ ६८ पैसा कट्टा गरी बाँकी रकम सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको हो।

बोर्डले २०८३ असोज ७ गते आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेटबाट हालसम्म निकासा प्राप्त रकममध्ये ९७ करोड ७३ लाख २९ हजार ७७८ रुपैयाँ ६० पैसा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरेको जनाएको छ। बोर्डले उक्त रकम सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा भुक्तानी गरिएको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ