नेभिगेशन

नेशनल मेडिकल कलेजमा ‘फेक फ्याकल्टी’ र नक्कली बिरामी देखाएर पीजी सिट लिएको आरोप

नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोष्टग्राजुयट (पीजी) विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै अन्सारीले विगत १० दिनदेखि पीजी विद्यार्थीहरू आन्दोलनमा रहेको र आन्दोलनमा सहभागी विद्यार्थीलाई होस्टेल खाली गर्न लगाउनुका साथै कलेज प्रवेशमा समेत रोक लगाइएको दाबी गर्नुभयो ।

उहाँले मेडिकल कलेजमा भइरहेको भनिएको अनियमितताविरुद्ध आवाज उठाएपछि विद्यार्थीमाथि कलेज प्रशासनले दबाब सिर्जना गरेको आरोप लगाउनुभयो ।

अन्सारीले नेशनल मेडिकल कलेजले करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ अर्थात् नियमित रूपमा काममा नरहेका प्राध्यापक देखाएर पीजी सिट लिएको आरोपसमेत लगाए । उनका अनुसार चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा कलेज व्यवस्थापनले सुरक्षागार्डलाई समेत नक्कली बिरामी बनाएर इमर्जेन्सी कक्षमा राखेको थियो ।

‘त्यस मेडिकल कलेजमा लगभग २५ जना फेक फ्याकल्टी मेम्बर, कामै नगर्ने प्रोफेसरहरू देखाएर पीजी सिट लिइएको छ,’ अन्सारीले प्रतिनिधि सभामा भन्नुभयो, ‘चिकित्सा शिक्षा आयोग निरीक्षणमा जाँदाखेरि इमर्जेन्सी हलमा त्यहीँका सुरक्षागार्डलाई बिरामी बनाएर पानी चढाउन कलेज व्यवस्थापनले फोर्स गरेको छ।’

उहाँले यस्ता गतिविधिले चिकित्सा शिक्षा र विद्यार्थीको भविष्यमा गम्भीर असर पार्ने भन्दै सरकारले तत्काल छानबिन गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
अन्सारीले विगतदेखि नै यस्ता गतिविधि हुँदै आएको दाबी गर्दै सम्बन्धित कलेजमाथि कारबाही हुन नसक्नुमा राज्यका निकायमाथि प्रभाव र दबाब रहेको आरोपसमेत लगाउनुभयो ।

उहाँका अनुसार चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय, स्थानीय प्रशासनलगायत राज्यका विभिन्न निकायमा प्रभाव पारिएका कारण विगतमा समेत कलेजमाथि प्रभावकारी कारबाही हुन नसकेको हो ।

अन्सारीले आफूले कुनै एउटा संस्थालाई मात्र लक्षित गरेर आरोप नलगाएको स्पष्ट पार्दै चिकित्सा शिक्षामा देखिएका बेथिति अन्त्य गर्नुपर्ने विषय उठाएको बताउनुभयो ।

उहाँले आन्दोलनरत विद्यार्थीमध्ये करिब आधा काठमाडौंमा आएर आन्दोलन गरिरहेको जानकारी दिँदै उनीहरूका माग सम्बोधन गरी तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विद्यार्थीहरूले उठाएका आरोप तथा सांसद अन्सारीले प्रतिनिधि सभामा राखेका दाबीबारे सम्बन्धित कलेज प्रशासन र चिकित्सा शिक्षा आयोगको औपचारिक धारणा भने सार्वजनिक भएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट