नेभिगेशन

सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक

नेपाल हेल्थ न्युज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटीलाई परिपत्र गर्दै सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) कार्यान्वयन गर्न निर्देशन दिएको हो।

ऐनमा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिसरको ३०० मिटर वरिपरि निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङहोम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।

मन्त्रालयले उक्त कानुनी व्यवस्था कार्यान्वयनका लागि यसअघि नै २०७९ माघ २९ गते स्वास्थ्य निर्देशनालयलाई ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ सहित निर्देशन दिएको जनाएको छ।

मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारका अनुसार यसअघि दिइएको निर्देशन र संलग्न मापदण्डअनुसार ऐनको दफा २७ पूर्णरूपमा कार्यान्वयन नभएको पाइएपछि पुनः कडाइका साथ कार्यान्वयन गर्न ताकेता गरिएको हो।

उहाँका अनुसार मंगलबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार ऐन तथा मापदण्ड कार्यान्वयनमा कडाइ गर्न स्वास्थ्य निर्देशनालयलाई अनुरोध गरिएको छ। प्रदेश सरकारले सरकारी स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई व्यवस्थित बनाउने तथा सरकारी स्वास्थ्य संस्थाको आसपास निजी स्वास्थ्य व्यवसाय सञ्चालनमा रहेको कानुनी बन्देज कार्यान्वयन गर्ने उद्देश्यले निर्देशन दिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट