नेभिगेशन

२८ लाख २० हजार घुस लेनदेनको आरोप, खाद्य अनुसन्धान अधिकृतसहित चार जना तानिए

नेपाल हेल्थ न्युज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार उद्योग तथा खाद्य आयातसम्बन्धी अनुमति तथा सेवा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेको र विभिन्न व्यक्तिका बैंक खातामार्फत रकम जम्मा गराएको अनुसन्धानबाट खुलेको छ।

अख्तियारले अधिकारीसहित बसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

\आयोगका अनुसार विभिन्न बैंक खातामा जम्मा गरिएको घुसबापतको कुल रकम २८ लाख २० हजार ३७५ रुपैयाँ रहेको छ। उक्त रकममध्ये खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीको नाममा रहेको नेपाल बैंकको खातामा २५ हजार र प्रभु बैंकको खातामा १ लाख १४ हजार रुपैयाँ जम्मा भएको पाइएको छ।

त्यस्तै, बसन्तकुमार बस्याल क्षेत्रीको माछापुच्छ्रे बैंक खातामा ८ लाख ९४ हजार ५०० रुपैयाँ, रश्मिता श्रेष्ठको ग्लोबल आईएमई बैंक खातामा १४ लाख ९३ हजार ३७५ रुपैयाँ तथा सुरेश चौधरीको प्रभु बैंक खातामा २ लाख ६९ हजार रुपैयाँ जम्मा भएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार अधिकारीले राष्ट्रसेवक कर्मचारीका रूपमा आफ्नो पद तथा ओहदाको कामको सिलसिलामा बदनियत राखी अन्य प्रतिवादीहरूसँग मिलेमतो तथा योजनामा कम्पनी, उद्योग तथा भन्सार एजेन्टसँग सम्बन्धित व्यक्तिहरूबाट खाद्य आयात अनुमति तथा विभागबाट हुने अन्य सेवा सहजीकरणका लागि घुस रकम मागेका थिए। घुस रकम संकलन गर्न विभिन्न बैंक खाताको विवरण तथा क्यूआरसमेत आदानप्रदान गरिएको आयोगको अनुसन्धानबाट खुलेको दाबी छ।

आयोगले अर्जुन अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम २८ लाख २० हजार ३७५ रुपैयाँ बिगो कायम गरी सोहीअनुसार कैद तथा बिगो बराबर जरिवानाको मागदाबी गरेको छ।

त्यस्तै, बसन्तकुमार बस्याल क्षेत्रीविरुद्ध ८ लाख ९४ हजार ५०० रुपैयाँ, सुरेश चौधरीविरुद्ध २ लाख ६९ हजार रुपैयाँ र रश्मिता श्रेष्ठविरुद्ध १४ लाख ९३ हजार ३७५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारलाई हुने सजायसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।

अख्तियारले उनीहरूलाई घुस रकम संकलन तथा गैरकानुनी लाभ लिने प्रकृतिको कसुरमा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा चारै जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। उल्लेखित आरोपहरूबारे अन्तिम कानुनी निर्णय भने विशेष अदालतको न्यायिक प्रक्रियाबाट हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट