नेभिगेशन

इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट समूहका औषधिको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध नलगाइएको स्पष्ट पारेको छ। नयाँ उत्पादन र आयातमा लगाइएको रोकलाई बजारमा उपलब्ध औषधिसमेत बिक्री गर्न नपाइने भन्दै फैलाइएको सूचनाप्रति ध्यानाकर्षण गराउँदै विभागले सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेको हो।

विभागले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार आवश्यक जोखिम मूल्याङ्कनका कागजात नबुझाएका वा तोकिएका मापदण्ड पूरा नगरेका ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयात रोकिएको छ। सम्बन्धित औषधिको दर्ता प्रमाणपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइए पनि यसअघि नै बजारमा उपलब्ध भइसकेका औषधिको बिक्री र प्रयोगमा भने रोक नलगाइएको विभागले जनाएको छ।

विशेषगरी अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घकालीन रोगको उपचार गराइरहेका बिरामीलाई आवश्यक औषधिको आपूर्ति प्रभावित हुन नदिन विभागले पहल गरिरहेको जनाएको छ। जोखिम मूल्याङ्कनसम्बन्धी विवरण उपयुक्त भएका केही उद्योग तथा आयातकर्तालाई बजारमा औषधिको अभाव हुन नदिन बढीमा तीन महिनासम्म उत्पादन र आयात गर्न अनुमति दिँदै प्रमाणपत्र नवीकरण गरिएको विज्ञप्तिमा उल्लेख छ।

विभागका अनुसार औषधिको गुणस्तर कायम राख्न र एउटा औषधिको अंश अर्को औषधिमा मिसिन सक्ने जोखिम अर्थात् क्रस(कन्टामिनेसन रोक्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्था लागू गरिएको हो। यसअन्तर्गत जोखिम व्यवस्थापन, उत्पादनस्थलको सफाइ प्रमाणीकरण, छुट्टै भेन्टिलेसन प्रणाली तथा स्वास्थ्यमा आधारित जोखिम सीमाको पालना गर्नुपर्नेछ। जोखिमको प्रकृतिअनुसार केही औषधि अलग उत्पादन सुविधामा तयार गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

यी मापदण्ड कार्यान्वयनका लागि विभागले नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि आयातकर्ता संघ र नेपाल औषधि व्यवसायी संघसँग समन्वय गरिरहेको जनाएको छ। यस विषयमा विभागले २०८३ वैशाख १५ र जेठ २१ गते नै सार्वजनिक सूचना जारी गरेको थियो।

निर्धारित व्यवस्थाविपरीत नयाँ उत्पादन वा आयात गरिएका औषधिको प्रयोगबाट कुनै व्यक्तिमा प्रतिकूल असर देखिएमा त्यसको जिम्मेवारी सम्बन्धित औषधि उपलब्ध गराउने वा प्रयोग गराउने निकाय अथवा व्यक्तिले लिनुपर्ने विभागले चेतावनी दिएको छ।

विभागले बिरामीलाई चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्न र औषधि अभाव हुने वा बजारमा रहेका औषधिको बिक्री बन्द भएको भन्ने अपुष्ट समाचारका आधारमा उपचार नछाड्न आग्रह गरेको छ।

यस विषयमा थप जानकारी वा गुनासोका लागि विभागका सूचना अधिकारी निनु श्रेष्ठलाई ९७४८३००१०९ वा ९८५१४३१३३३ तथा गुनासो सुन्ने अधिकारी शम्भु शाहलाई ९८१५०५२७७१ वा ९८५१४३०२२२ मा सम्पर्क गर्न सकिने जनाइएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ