नेपाल हेल्थ न्युज, काठमाडौं। पाचन प्रणाली (ग्याँस्ट्रोइन्टेस्टाइनल ट्रयाक) सम्बन्धी क्यान्सर नेपालमा तीव्र रूपमा बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा देखापरेको छ । केही वर्षअघिसम्म मुख्यतः वृद्धावस्थाको रोग मानिने ठूलो आन्द्रा (कोलोरेक्टल) क्यान्सर अहिले ३०–४० वर्ष उमेर समूहका युवायुवतीमा समेत बढ्दो रूपमा देखिन थालेको छ ।
यसको पछाडि आधुनिक जीवनशैली, अल्ट्रा–प्रोसेस्ड खाना, शारीरिक निष्क्रियता, मोटोपन, धूम्रपान, मदिरा सेवन तथा केही अवस्थामा वंशाणुगत कारण प्रमुख रूपमा जिम्मेवार छन् । सकारात्मक पक्ष के हो भने पाचन प्रणालीका अधिकांश क्यान्सर समयमै पहिचान गर्न सकेमा प्रभावकारी उपचार सम्भव छ ।
नेपालमा पनि अहिले आधुनिक शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी, इम्युनोथेरापी तथा लक्षित उपचार (टार्गेटेड थेरापी) उपलब्ध भएकाले अधिकांश बिरामीले विदेश धाउनुपर्ने अवस्था छैन ।
पाचन प्रणालीका क्यान्सर
पाचन प्रणाली भन्नाले मुखबाट खाना प्रवेश गरेदेखि मलद्वारसम्मका सम्पूर्ण अंगलाई जनाउँछ । यीमध्ये जुनसुकै भागमा क्यान्सर हुन सक्छ । यसअन्तर्गत
- खानेनली (इसोफागस) को क्यान्सर
- पेट (स्टोमक÷ग्याँष्ट्रिक) क्यान्सर
- सानो आन्द्राको क्यान्सर
- ठूलो आन्द्रा (कोलोन) को क्यान्सर
- मलाशय (रेक्टम) को क्यान्सर
- मलद्वारको क्यान्सर
पर्छन् । यी सबैलाई समग्रमा ग्यास्ट्रोइन्टेस्टाइनल (जिआई) क्यान्सर भनिन्छ । नेपालमा पाचन प्रणालीका क्यान्सरमध्ये सबैभन्दा बढी ग्यास्ट्रिक (पेट) क्यान्सर देखिन्छ । त्यसपछि ठूलो आन्द्रा र मलाशयको क्यान्सर तीव्र रूपमा बढिरहेको छ भने खानेनलीको क्यान्सर पनि उल्लेखनीय संख्यामा पाइन्छ ।
सामान्य लक्षणलाई बेवास्ता नगर्नुहोस्
पाचन प्रणालीका धेरै क्यान्सर सुरुका चरणमा सामान्य ग्यास्ट्रिक, अपच वा एसिडिटीजस्तै देखिन्छन्। यही कारण धेरै बिरामी ढिलो चरणमा अस्पताल पुग्छन् । खानेनलीको क्यान्सरमा सबैभन्दा महत्वपूर्ण संकेत भनेको खाना निल्न गाह्रो हुनु हो ।
सुरुमा कडा खाना, पछि नरम खाना र अन्त्यमा तरल पदार्थ निल्नसमेत समस्या हुनसक्छ । यससँगै खाना निल्दा दुख्ने, खाएको खाना फर्केर आउने, बारम्बार वान्ता हुने, तौल घट्दै जाने, कमजोरी बढ्ने वा कालो दिसा देखिने लक्षण पनि देखिन सक्छ ।
यसैगरी पेटको क्यान्सरमा लामो समयसम्म अपच, पेट भारी हुने, खाना खान मन नलाग्ने, चाँडै पेट भरिएको महसुस हुने, तौल घट्ने वा रगत बान्ता हुनेजस्ता संकेत देखिन सक्छन् । लामो समयसम्म कुनै पनि असामान्य पेटसम्बन्धी समस्या रहिरहेमा आफैं औषधि सेवन गरेर बस्नुहुँदैन । समयमै इन्डोस्कोपी तथा आवश्यक परीक्षण गराउनु नै सबैभन्दा बुद्धिमानी कदम हो ।
किन बढ्दैछ युवा उमेरमै ठूलो आन्द्राको क्यान्सर?
एक समय ५०–६० वर्षपछि मात्र देखिने कोलोरेक्टल क्यान्सर अहिले ३०–४० वर्षमै देखिन थालेको छ । यसको मुख्य कारण आधुनिक जीवनशैली नै हो ।
अत्यधिक अल्ट्रा–प्रोसेस्ड खाना, धेरै चिल्लो, धेरै नुन र चिनी भएका खाद्यपदार्थ, बार्बिक्यु वा अत्यधिक पोलिएको रातो मासु, फाइबरयुक्त आहारको कमी, हरियो सागसब्जी कम खाने बानी, नियमित व्यायामको अभाव तथा मोटोपनले जोखिम उल्लेखनीय रूपमा बढाइरहेका छन् । धूम्रपान र मदिरा सेवनले पनि ठूलो आन्द्राको क्यान्सरको सम्भावना बढाउँछ । केही व्यक्तिमा भने वंशाणुगत जीन परिवर्तनका कारण पनि रोग देखिन सक्छ ।
शेर्पा समुदायमा पेटको क्यान्सर किन बढी ?
नेपालका विशेषगरी हिमाली क्षेत्रमा शेर्पा समुदायमा पेटको क्यान्सर तुलनात्मक रूपमा बढी देखिने गरेको विभिन्न अध्ययनले देखाएका छन् । यसको प्रमुख कारणमध्ये एक हेलिकोब्याक्टर पाइलोरी (एच.पाइलोरी) नामक ब्याक्टेरियाको संक्रमण हो ।
यो संक्रमण लामो समयसम्म रहिरहेमा दीर्घकालीन ग्यास्ट्राइटिस हुँदै क्रमशः पेटको क्यान्सरमा रूपान्तरण हुनसक्छ । त्यसैगरी हिमाली क्षेत्रमा ताजा फलफूल तथा तरकारीको उपलब्धता सीमित हुने भएकाले धेरै नुन हालेर सुरक्षित गरिएका, स्मोक्ड तथा क्युअर्ड खाद्यपदार्थ खाने चलन बढी छ । यस्ता खानाले पनि जोखिम बढाउने वैज्ञानिक प्रमाणहरू छन् । मदिरा सेवनको उच्च प्रचलनले समेत जोखिम थप बढाउन सक्छ ।
पित्तथैलीमा ढुङ्गा देखियो भने क्यान्सर हुन्छ ?
धेरैलाई लाग्छ—पित्तथैलीमा ढुङ्गा देखियो भने पछि क्यान्सर हुन्छ । तर यो धारणा पूर्णरूपमा सही होइन । पित्तथैलीको क्यान्सर भएका धेरै बिरामीमा ढुङ्गा भेटिए पनि सबै ढुङ्गाले क्यान्सर गराउँदैन ।
अध्ययनअनुसार करिब ३–५ प्रतिशतमा मात्र ढुङ्गाका कारण क्यान्सर विकसित हुनसक्छ । सामान्य रूपमा ढुङ्गा देखिँदैमा शल्यक्रिया आवश्यक पर्दैन । तर ३ सेन्टिमिटरभन्दा ठूलो ढुङ्गा, १ सेन्टिमिटरभन्दा ठूलो पोलिप वा पोर्सिलिन गलब्लाडर जस्ता अवस्थालाई क्यान्सर हुनुअघिको जोखिम मानिने भएकाले शल्यक्रियाबाट पित्तथैली निकाल्ने सल्लाह दिइन्छ ।
क्यान्सर शल्यक्रिया अघि किमोथेरापी किन ?
पहिले क्यान्सर देखिनेबित्तिकै अप्रेसन गरिन्थ्यो । अहिले उपचारको अवधारणा धेरै परिवर्तन भएको छ । केही प्रकारका क्यान्सरमा—विशेषगरी पेट, मलाशय, स्तन तथा अग्नाशयका केही अवस्थाहरूमा—पहिले किमोथेरापी वा अन्य प्रणालीगत उपचार दिइन्छ ।
यसले ट्युमरको आकार घटाउँछ, शरीरका अन्य भागमा फैलिने सम्भावना कम गर्छ, शल्यक्रिया सहज बनाउँछ र भविष्यमा रोग दोहोरिने जोखिम पनि घटाउँछ । उपचारको क्रम भने सबै बिरामीमा एउटै हुँदैन । ट्युमरको जैविक प्रकृति, स्टेज, आक्रामकता तथा बिरामीको अवस्थाअनुसार व्यक्तिगत रूपमा निर्णय गरिन्छ ।
शल्यक्रियापछि किन आवश्यक पर्छ किमोथेरापी ?
शल्यक्रियापछि निकालिएको ट्युमरको हिस्टोप्याथोलोजी रिपोर्ट हेरेर थप उपचारको आवश्यकता निर्धारण गरिन्छ । यदि क्यान्सर प्रारम्भिक चरणमै सीमित थियो भने थप उपचार आवश्यक नपर्न सक्छ ।
तर लिम्फ नोडमा फैलिएको, उच्च ग्रेडको वा पुनः फर्किने जोखिम बढी भएको अवस्थामा किमोथेरापी, इम्युनोथेरापी वा टार्गेटेड थेरापी आवश्यक हुनसक्छ । निर्णय गर्दा क्यान्सरको स्टेज मात्र होइन, बिरामीको उमेर, शारीरिक अवस्था तथा अन्य रोगहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
इम्युनोथेरापी र टार्गेटेड थेरापीः नयाँ युगको उपचार
क्यान्सर उपचारमा अहिले सबैभन्दा आशालाग्दा उपलब्धिमध्ये इम्युनोथेरापी र टार्गेटेड थेरापी पनि हुन् । इम्युनोथेरापीले प्रत्यक्ष क्यान्सर नष्ट गर्दैन । यसले शरीरको आफ्नै प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाएर क्यान्सरसँग लड्न सक्षम बनाउँछ ।
त्यसैगरी टार्गेटेड थेरापीले क्यान्सर कोषका विशेष जैविक लक्ष्य (मोलिक्युलर टार्गेट) मा मात्र असर गर्ने भएकाले सामान्य कोषमा कम क्षति पुऱ्याउँछ । यी उपचार सबै बिरामीका लागि उपयुक्त हुँदैनन्। विशेष जैविक परीक्षणपछि मात्रै आवश्यक बिरामीमा प्रयोग गरिन्छ ।
प्यालिएटिभ केयरः
जीवनलाई सहज बनाउने सेवा
प्यालिएटिभ केयरलाई धेरैले अन्तिम अवस्थाको उपचार मात्र ठान्छन्, तर यो गलत बुझाइ हो । प्यालिएटिभ केयरको उद्देश्य बिरामीको जीवनलाई सहज, आरामदायी र सम्मानजनक बनाउनु हो । दुखाइ नियन्त्रण, वान्ता कम गर्नु, पोषण सुधार, मानसिक सहयोग तथा जीवनको गुणस्तर बढाउनु यसको मुख्य लक्ष्य हो ।
यो सेवा अन्तिम अवस्थाका बिरामीका लागि नभई क्यान्सर पत्ता लागेको पहिलो दिनदेखि नै आवश्यक पर्न सक्छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्यालिएटिभ केयर घर, अस्पताल तथा हस्पिस—यी तीनै माध्यमबाट उपलब्ध गराइन्छ । नेपालमा यसको विस्तार हुँदै गए पनि आवश्यकताअनुसार सेवा अझै पर्याप्त छैन । भविष्यमा हस्पिस तथा समुदायमा आधारित प्यालिएटिभ सेवा विस्तार गर्नु अपरिहार्य छ ।
अधिकांश उपचार नेपालमै सम्भव
क्यान्सर पत्ता लागेपछि धेरै नेपालीको पहिलो प्रश्न हुन्छ—उपचार नेपालमै सम्भव छ कि विदेश जानुपर्छ ? आजको अवस्थामा अधिकांश बिरामीका लागि उत्तर सकारात्मक छ । नेपालमा अहिले क्यान्सरको निदान, आधुनिक शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी, इम्युनोथेरापीका धेरै औषधि तथा लक्षित उपचार उपलब्ध छन् ।
विश्वका सबै नयाँ औषधि प्रत्येक देशमा तुरुन्त उपलब्ध नहुन सक्छन् । केही नवीनतम इम्युनोथेरापी वा अत्याधुनिक टार्गेटेड औषधिका लागि मात्र सीमित बिरामी विदेश जानुपर्ने हुनसक्छ । तर व्यवहारमा हेर्दा करिब ८०–९० प्रतिशत क्यान्सर बिरामीको उपचार नेपालमै सफलतापूर्वक सम्भव छ ।
स्वस्थ जीवनशैली नै सबैभन्दा प्रभावकारी बचाउ
पाचन प्रणालीका सबै क्यान्सर रोक्न सम्भव नहुन सक्छ । तर जोखिम उल्लेखनीय रूपमा घटाउन भने अवश्य सकिन्छ । त्यसका लागि अल्ट्रा–प्रोसेस्ड तथा जङ्क फुड कम खाने, प्रशस्त फलफूल, हरियो सागसब्जी र फाइबरयुक्त आहार सेवन गर्ने, नियमित शारीरिक व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने, धूम्रपान र मदिराबाट टाढा रहने, एच. पाइलोरी संक्रमण तथा दीर्घकालीन पेटसम्बन्धी समस्या समयमै उपचार गर्ने, असामान्य लक्षण देखिए ढिलो नगरी विशेषज्ञसँग परामर्श गर्ने जस्ता उपायहरूले पाचन प्रणालीका धेरै क्यान्सरबाट बच्न महत्वपूर्ण भूमिका खेल्छन् ।
समयमै पहिचान, वैज्ञानिक उपचार र स्वस्थ जीवनशैली—यी तीन आधार अपनाउन सके पाचन प्रणालीका क्यान्सरका कारण हुने मृत्यु तथा जटिलतालाई उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।
पेटका रोग पहिचानमा रेडियोलोजी
शुक्रबार, कात्तिक १३, २०८३
पेट दुख्यो भन्दैमा औषधि मात्र होइन
बिहीबार, कात्तिक १२, २०८३
