नेभिगेशन

पेटका रोग पहिचानमा रेडियोलोजी

अल्ट्रासाउन्डदेखि एमआरआईसम्मको आधुनिक यात्रा-प्रा.डा. रामकुमार घिमिरे

नेपाल हेल्थ न्युज, काठमाडौं । पेट दुख्ने, ग्याँस्ट्रिक हुने, खाना निल्न गाह्रो हुने, दिसामा रगत देखिने, तौल घट्ने वा लगातार अपच भइरहने जस्ता समस्या धेरै नेपालीले सामान्य ठानेर बेवास्ता गर्छन् । तर यिनै लक्षण कतिपय अवस्थामा गम्भीर रोगका प्रारम्भिक संकेत पनि हुन सक्छन् ।त्यसैले रोगको सही पहिचान (डायग्नोसिस) समयमै हुनु उपचारको सबैभन्दा महत्वपूर्ण आधार हो । आधुनिक चिकित्सा विज्ञानमा रेडियोलोजीले पेटसम्बन्धी रोगको पहिचानमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआई तथा एमआरसीपीजस्ता प्रविधिले शरीर नखोली नै भित्री अंगहरूको विस्तृत अध्ययन गर्न सम्भव बनाएका छन् । कुन अवस्थामा कुन परीक्षण उपयुक्त हुन्छ भन्ने निर्णय भने रोगको प्रकृति, बिरामीको अवस्था र चिकित्सकीय आवश्यकताका आधारमा गरिन्छ ।

पहिलो रोजाइ किन अल्ट्रासाउन्ड ?

पेटसम्बन्धी समस्या देखिएपछि अधिकांश अवस्थामा सबैभन्दा पहिले गरिने परीक्षण अल्ट्रासाउन्ड हो । मुख्य कारण यसको सहज उपलब्धता, कम खर्च, सुरक्षित प्रकृति र राम्रो प्रारम्भिक निदान क्षमता हो । नेपालका अधिकांश अस्पताल तथा स्वास्थ्य संस्थामा अल्ट्रासाउन्ड सहज रूपमा उपलब्ध छ ।

यसमा कुनै प्रकारको विकिरण (रेडिएसन) प्रयोग हुँदैन । त्यसैले आवश्यकता अनुसार पटक–पटक परीक्षण गर्न सकिन्छ । लागत पनि अन्य इमेजिङ प्रविधिको तुलनामा कम भएकाले बिरामीको आर्थिक भार घट्छ । अल्ट्रासाउन्डबाट कलेजो, पित्तथैली, मिर्गौला, प्याँन्क्रियाज, फियो तथा पेटभित्रका धेरै अंगहरूको प्रारम्भिक अवस्था मूल्याङ्कन गर्न सकिन्छ । तर सबै रोग अल्ट्रासाउन्डबाट मात्र स्पष्ट देखिन्छन् भन्ने हुँदैन । कतिपय अवस्थामा कुनै असामान्यता देखिएपछि त्यसको वास्तविक प्रकृति बुझ्न थप परीक्षण आवश्यक पर्छ ।
सिटी स्क्यानः थप स्पष्ट उत्तर खोज्ने माध्यम
अल्ट्रासाउन्डपछि आवश्यक परेमा सबैभन्दा बढी प्रयोग हुने परीक्षण सिटी स्क्यान  हो । पेटसम्बन्धी धेरै रोगको निदानमा सिटी स्क्यान अत्यन्त प्रभावकारी मानिन्छ ।

यो नेपालका धेरै अस्पतालमा उपलब्ध छ र छोटो समयमा विस्तृत जानकारी दिन सक्छ । विशेषगरी ट्युमर, संक्रमण, आन्तरिक चोटपटक, रक्तस्राव तथा विभिन्न अंगहरूको संरचनात्मक परिवर्तन पत्ता लगाउन यसको भूमिका महत्वपूर्ण हुन्छ । सिटी स्क्यानले रोग रहेको वा नरहेको मात्र नभई रोगको फैलावटसमेत देखाउन सहयोग गर्छ । तर केही जटिल अवस्थाहरूमा सिटी स्क्यानले पनि पर्याप्त जानकारी दिन सक्दैन । त्यस्तो अवस्थामा अर्को अत्याधुनिक परीक्षण आवश्यक हुन्छ ।
एमआरआईः जटिल रोगको सूक्ष्म विश्लेषण
एमआरआई (म्याग्नेटिक रेजोनान्स इमेजिङ) सबै बिरामीका लागि उपयुक्त पहिलो रोजाइको परीक्षण होइन । तर केही विशेष रोगहरूमा यो सबैभन्दा उत्कृष्ट विधि मानिन्छ । एमआरआईले शरीरका नरम तन्तु (सफ्ट टिस्यु) अत्यन्त स्पष्ट रूपमा देखाउने भएकाले रोगको वास्तविक स्वरूप बुझ्न ठूलो सहयोग पु¥याउँछ । सिटी स्क्यानले रोग देखाए पनि त्यसको गहिराइ, फैलावट र वरपरका अंगसँगको सम्बन्ध मूल्याङ्कन गर्न धेरै अवस्थामा एमआरआई आवश्यक पर्छ ।

प्याँन्क्रियाजका रोगमा पनि एमआरआईको विशेष भूमिका
प्याँन्क्रियाज (अग्नाशय) सम्बन्धी धेरै रोगमा सिटी स्क्यान उपयोगी भए पनि केही अवस्थाहरूमा एमआरआई अझ प्रभावकारी हुन्छ । विशेषगरी प्याँन्क्रियाजभित्र भएका साना परिवर्तन, सिस्ट, ट्युमर तथा विभिन्न प्रकारका गाँठाहरू छुट्याउन एमआरआईले धेरै स्पष्ट जानकारी दिन सक्छ । यसले रोगको प्रकृति छुट्याउन तथा उपयुक्त उपचार योजना बनाउन चिकित्सकलाई महत्वपूर्ण आधार प्रदान गर्छ ।

प्याँन्क्रियाटिक नली र पित्तनली हेर्न किन आवश्यक हुन्छ एमआरसीपी ?
प्याँन्क्रियाजबाट निस्कने पाचन रस तथा कलेजोबाट उत्पादन हुने पित्त छुट्टाछुट्टै नलीमार्फत सानो आन्द्राको पहिलो भाग (ड्युडेनम) सम्म पुग्छन् । यी नलीमा अवरोध, साँघुरोपन, पत्थरी वा अन्य समस्या भएमा बिरामीलाई गम्भीर स्वास्थ्य समस्या हुन सक्छ । यी नलीहरूको विस्तृत अध्ययन गर्न प्रयोग गरिने विशेष एमआरआई प्रविधिलाई एमआरसीपी (म्याग्नेटिक रेजोनेन्स कोलान्जियोप्याङ्क्रियाटोग्राफी) भनिन्छ ।

एमआरसीपीले के देखाउँछ ?

एमआरसीपीले विशेष रूपमा पित्तनली (बाइल डक्ट), प्याँन्क्रियाटिक नलीलाई अत्यन्त स्पष्ट रूपमा देखाउँछ । यसबाट चिकित्सकले नली बन्द, साँघुुरो वा पत्थरी भएनभएको वा अन्य कुनै रोगले नलीमा असर गरेको छ कि छैन भन्ने सजिलै पत्ता लगाउन मद्धत  गर्छ । सबैभन्दा महत्वपूर्ण कुरा यसका लागि शरीरभित्र पाइप छिराउनुपर्दैन । शल्यक्रियाविहीन तथा अपेक्षाकृत सहज तरिकाले नलीहरूको विस्तृत अध्ययन गर्न सकिने भएकाले एमआरसीपी आधुनिक रेडियोलोजीको अत्यन्त उपयोगी प्रविधि बनेको छ ।
 

के एमआरआई शतप्रतिशत सही हुन्छ ?
चिकित्सा विज्ञानमा कुनै पनि परीक्षण शतप्रतिशत हुँदैन । यदि कुनै एउटा प्रविधिले सबै रोग शत्प्रतिशत पहिचान गर्न सक्थ्यो भने अन्य परीक्षणहरूको आवश्यकता नै रहने थिएन । विज्ञानमा कुनै पनि परीक्षणको विश्वसनीयता त्यसको संवेदनशीलता, विशिष्टता र चिकित्सकीय सन्दर्भमा मूल्याङ्कन गरिन्छ ।

धेरै रोगमा ९५–९८ प्रतिशतसम्म विश्वसनीयता उत्कृष्ट मानिन्छ । त्यसैले एमआरआई धेरै जटिल रोगहरूको निदानमा अत्यन्त उत्कृष्ट प्रविधि भए पनि आवश्यक पर्दा अल्ट्रासाउन्ड, सिटी स्क्यान, एन्डोस्कोपी, बायोप्सी तथा अन्य परीक्षणसँग मिलाएर अन्तिम निर्णय गरिन्छ ।

रोगअनुसार सही परीक्षणको छनोट नै सफल उपचारको आधार
रेडियोलोजीमा कुनै एउटा परीक्षण सबै रोगका लागि उपयुक्त हुँदैन । अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआई र एमआरसीपी सबैको आफ्नै भूमिका र महत्व छ । त्यसैले बिरामीले आफूखुसी परीक्षण रोज्नु भन्दा पनि विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार गर्नु नै उचित हुन्छ ।

बेलैमा सही प्रविधिबाट रोगको पहिचान गर्न सकेमा उपचार अझ प्रभावकारी, सुरक्षित र सफल बन्न सक्छ । आधुनिक रेडियोलोजीले पेटसम्बन्धी धेरै जटिल रोगलाई प्रारम्भिक चरणमै पहिचान गर्ने क्षमता विकास गरिसकेको छ । समयमै गरिएको सही इमेजिङ परीक्षणले बिरामीको उपचार मात्र नभई जीवनसमेत बचाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

इन्टेरोग्राफीः सानो आन्द्राको रोग पत्ता लगाउने विशेष इमेजिङ प्रविधि
पाचन प्रणालीका धेरैजसो रोगको पहिचान गर्न इन्डोस्कोपी र कोलोनोस्कोपी अत्यन्त प्रभावकारी मानिन्छन् । इन्डोस्कोपीबाट खाने नली (इसोफेगस), पेट (स्टोमक) र सानो आन्द्राको सुरुआती भाग हेर्न सकिन्छ भने कोलोनोस्कोपीबाट ठूलो आन्द्राको अधिकांश भाग प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

तर आधुनिक चिकित्सा विज्ञानमा अझै पनि एउटा चुनौतीपूर्ण अंग भनेको सानो आन्द्रा हो । यसको लम्बाइ धेरै हुने भएकाले सम्पूर्ण भागलाई सामान्य इन्डोस्कोपी वा कोलोनोस्कोपीबाट प्रत्यक्ष हेर्न सम्भव हुँदैन । यही कारण सानो आन्द्रामा हुने रोगहरूको निदानका लागि विशेष इमेजिङ प्रविधिको आवश्यकता पर्छ । यही विशेष प्रविधिलाई इन्टेरोग्राफी भनिन्छ । इन्टेरोग्राफी सिटी स्क्यान वा एमआरआई दुवैबाट गर्न सकिन्छ ।

परीक्षणअघि बिरामीलाई विशेष प्रकारको तरल पदार्थ पिउन दिइन्छ जसले सानो आन्द्रालाई राम्रोसँग फुलाउन मद्दत गर्छ । त्यसपछि नसाबाट कन्ट्रास्ट औषधि दिएर विस्तृत इमेज लिइन्छ । यस विधिबाट सानो आन्द्राको भित्री संरचना, सुन्निने समस्या, ट्युमर, संक्रमण, रक्तस्राव तथा अन्य असामान्यता सामान्य परीक्षणभन्दा धेरै स्पष्ट रूपमा देख्न सकिन्छ । विशेषगरी इन्डोस्कोपीले नपुग्ने भागको मूल्याङ्कन गर्न इन्टेरोग्राफी अत्यन्त उपयोगी मानिन्छ ।

कन्ट्रास्ट स्टडीः रोगलाई अझ स्पष्ट बनाउने प्रविधि
आधुनिक रेडियोलोजीमा कन्ट्रास्ट स्टडीको विशेष महत्व छ । सिटी स्क्यान र एमआरआई दुवैमा आवश्यकताअनुसार कन्ट्रास्ट प्रयोग गरिन्छ । कन्ट्रास्ट भनेको नसाबाट दिइने विशेष औषधि हो जसले शरीरका रक्तनली तथा रगत बढी पुग्ने भागहरूलाई इमेजमा अझ स्पष्ट देखाउँछ ।

कुनै ट्युमरमा कति रक्तसञ्चार भइरहेको छ ? रक्तनली साँघुरिएको छ कि छैन ? बन्द भएको छ कि छैन ? रक्तस्राव भइरहेको छ कि छैन ? वा कुनै असामान्य रक्तनली बनेको छ कि छैन भन्ने मूल्याङ्कन गर्न कन्ट्रास्ट अत्यन्त महत्वपूर्ण हुन्छ ।

एमआरआईमा ग्याडोलिनियम आधारित  कन्ट्रास्ट प्रयोग गरिन्छ भने सिटी स्क्यानमा आयोडिन आधारित कन्ट्रास्ट प्रयोग गरिन्छ । यी औषधि नसाबाट शरीरभरि पुगेपछि सम्बन्धित अंगमा रक्तप्रवाहको अवस्थालाई स्पष्ट रूपमा देखाउन मद्दत गर्छन् । त्यसैले धेरै जटिल रोगको सही निदानका लागि कन्ट्रास्ट स्टडी अपरिहार्य बन्ने गरेको छ ।

एपेन्डिसाइटिसमा सिटी स्क्यान अनिवार्य हुन्छ त ?
एपेन्डिसाइटिसको प्रारम्भिक शंका धेरैजसो बिरामीको लक्षण र चिकित्सकीय परीक्षणबाट नै गर्न सकिन्छ । यदि पेटको दाहिने तल्लो भागमा तीव्र दुखाइ छ, थिच्दा बढी दुख्छ, ज्वरो आएको छ वा अन्य विशिष्ट लक्षण देखिएका छन् भने चिकित्सकले एपेन्डिसाइटिसको शंका गर्न सक्छन् ।

तर यस्तै लक्षण अन्य रोगमा पनि देखिन सक्ने भएकाले आवश्यक परे इमेजिङ परीक्षण गरिन्छ । सुरुमा प्रायः अल्ट्रासाउन्ड गरिन्छ । यसबाट एपेन्डिक्स सुन्निएको छ कि छैन भन्ने धेरै अवस्थामा पत्ता लाग्छ । तर बिरामी धेरै मोटो भएको, पेटमा धेरै ग्याँस र तरल पदार्थ जमेको वा अन्य कारणले एपेन्डिक्स स्पष्ट नदेखिएको अवस्थामा सबैभन्दा भरपर्दो परीक्षण सिटी स्क्यान मानिन्छ ।

सिटी स्क्यानले एपेन्डिक्स सुन्निए नसुन्निएको, फुट्ने अवस्था भएनभएको, वरिपरि संक्रमण फैलिएको छ कि छैन भन्ने विस्तृत जानकारी दिन्छ । त्यसैले सबै एपेन्डिसाइटिसमा सिटी स्क्यान आवश्यक नपरे पनि जटिल वा अस्पष्ट अवस्थामा यसको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।

मलद्वार र रेक्टमको क्यान्सरमा किन एमआरआई अपरिहार्य हुन्छ ?
मलद्वार र रेक्टमको क्यान्सरमा सिटी स्क्यानले क्यान्सर भएको देखाउन सक्छ । तर उपचारको योजना बनाउन आवश्यक पर्ने सबै जानकारी भने सधैं दिन सक्दैन । एमआरआईले रेक्टमको भित्ताका विभिन्न तह स्पष्ट रूपमा देखाउन सक्छ ।

चार तह भएको रेक्टमको भित्तामध्ये कति प्रभावित भएको छ ?  क्यान्सर कुन तहसम्म सीमित छ ? भित्ताबाहिर फैलिएको छ कि छैन ? वरपरका अंग तथा लिम्फ नोडमा पुगेको छ कि छैन ? भन्ने अत्यन्त सूक्ष्म मूल्याङ्कन सम्भव हुन्छ ।

यदि क्यान्सर भित्री तहमा मात्र सीमित भएको अवस्थामा इन्डोस्कोपीमार्फत नै ट्युमर हटाएर उपचार गर्न सकिन्छ । तर क्यान्सर भित्ता छेडेर बाहिर फैलिएको, लिम्फ नोडमा पुगेको वा वरपरका अंगमा असर गरेको अवस्थामा उपचारको रणनीति पूर्ण रूपमा परिवर्तन हुन्छ । यस्तो अवस्थामा शल्यक्रियाअघि केमोथेरापी, रेडियोथेरापी वा दुवै उपचार आवश्यक पर्न सक्छ ।

पुनः दोहोरिने  सम्भावना (रिकरेन्स) जोखिम पनि एमआरआईले मूल्यांकन गर्छ । यदि क्यान्सर साना रक्तनलीभित्र प्रवेश गरिसकेको अवस्थामा शरीरका अन्य अंगमा फैलिने सम्भावना उल्लेखनीय रुपमा बढ्छ । त्यस्तै लिम्फनोडमा क्यान्सर पुगेको अवस्थामा पनि रोग पुनः दोहोरिने तथा अन्य अंगमा फैलिने (मेटास्टेसिस) जोखिम बढी हुन्छ ।

यी शुक्ष्म परिवर्तनहरु सिटी स्क्यानले सँधै स्पष्ट देखाउँदैन । एमआरआईले भने यस्ता उच्च जोखिमका संकेतहरु पहिचान गरेर बिरामीलाई उपयुक्त उपचार योजना छनोट गर्न मद्धत गर्छ । त्यसैले रेक्टल क्यान्सरमा एमआरआई रोग देखाउने परीक्षण मात्र होइन, उपचारको सम्पूर्ण योजना निर्धारण गर्ने सबैभन्दा महत्वपूर्ण इमेजिङ प्रविधिका रूपमा स्थापित भएको छ ।

सही इमेजिङले उपचारको दिशा परिवर्तन 
आजको आधुनिक रेडियोलोजी रोग पत्ता लगाउने माध्यम मात्र नभई उपचारको रणनीति निर्धारण गर्ने आधार पनि बनेको छ । इन्टेरोग्राफीले सानो आन्द्राका जटिल रोग पहिचान गर्न मद्दत गर्छ, कन्ट्रास्ट स्टडीले रोगको सक्रियता र रक्तसञ्चार देखाउँछ, सिटी स्क्यानले आकस्मिक अवस्थाको छिटो मूल्याङ्कन गर्छ भने एमआरआईले रोगको सूक्ष्म अवस्था र फैलावटको विस्तृत जानकारी प्रदान गर्छ । त्यसैले रोगअनुसार सही समयमा सही इमेजिङ प्रविधिको छनोट गर्न सकिएमा उपचार अझ वैज्ञानिक, प्रभावकारी र सफल बन्न सक्छ ।

पेटसिटी स्क्यानः शरीरभरि क्यान्सरको खोजी गर्ने प्रविधि
आधुनिक क्यान्सर निदानमा सबैभन्दा उन्नत प्रविधिमध्ये एक हो पेट सिटी स्क्यान । यो वास्तवमा दुई फरक प्रविधिको संयोजन हो—पेट (पोजिट्रोन इमिसन टोमोग्राफ) जसले कोशिकाको जैविक गतिविधि (मेटाबोलिक एक्टिभिटी) देखाउँछ । सिटी स्क्यान जसले शरीरको संरचना (एनाटोमी)स्पष्ट रूपमा देखाउँछ । यी दुई प्रविधि एउटै परीक्षणमा संयोजन भएपछि रोग कहाँ छ भन्ने मात्र नभई त्यो कति सक्रिय छ भन्ने जानकारीसमेत प्राप्त हुन्छ ।

पेट–सिटी कसरी गरिन्छ ?
पेट–सिटी गर्नुअघि बिरामीलाई सामान्यतया एफ–१८ फ्लुरोडिओक्सी ग्लुकोज नामक रेडियोधर्मी पदार्थ नसाबाट दिइन्छ । यो पदार्थ विशेष साइक्लोट्रोन मेसिनमा उत्पादन गरिन्छ । शरीरमा पुगेपछि बढी ऊर्जा प्रयोग गर्ने कोशिकाले यसलाई धेरै मात्रामा सोस्छन् । क्यान्सर कोशिकाहरू सामान्य कोशिकाभन्दा धेरै सक्रिय हुने भएकाले त्यहाँ यो पदार्थ बढी जम्मा हुन्छ । त्यसपछि गरिएको पेट–सिटी स्क्यानले प्राथमिक क्यान्सर कहाँ छ ? शरीरका कुन अंगमा फैलिएको छ ? क्यान्सर कति सक्रिय अवस्थामा छ ? भन्ने कुरा एकैपटक देखाउन सक्छ । उदाहरणका लागि रेक्टममा देखिएको सानो क्यान्सर कलेजो, फोक्सो, हड्डी वा मस्तिष्कमा समेत फैलिएको छ कि छैन भन्ने कुरा पेट–सिटीबाट सहज रूपमा मूल्याङ्कन गर्न सकिन्छ । त्यसैले क्यान्सरको स्टेजिङ तथा उपचार योजना बनाउन यो अत्यन्त महत्वपूर्ण परीक्षण मानिन्छ।

नेपालमा पेट–सिटी किन सहज छैन ?
पेट सिटी प्रविधि अत्यन्त महँगो र प्राविधिक रूपमा जटिल प्रणाली हो।यसमा प्रयोग हुने रेडियोधर्मी पदार्थ उत्पादन गर्न साइक्लोट्रोन जस्तो अत्याधुनिक उपकरण आवश्यक पर्छ ।

यो उपकरणको लागत मात्र नभई यसको स्थापना, विकिरण सुरक्षा, विशेष भवन संरचना तथा दक्ष जनशक्तिको आवश्यकता पनि अत्यधिक हुन्छ । यही कारण नेपालमा यो सेवा अझै व्यापक रूपमा उपलब्ध हुन सकेको छैन ।

यद्यपि क्यान्सर उपचारको बढ्दो आवश्यकता हेर्दा भविष्यमा यस्तो प्रविधि देशभित्रै विस्तार हुनु अत्यन्त आवश्यक देखिन्छ ।

न्युक्लियर इमेजिङः शरीरको कार्यक्षमता हेर्ने विज्ञान
रेडियोलोजीले शरीरको संरचना देखाउँछ भने न्युक्लियर इमेजिङले शरीरका अंगहरूले कसरी काम गरिरहेका छन् भन्ने जानकारी दिन्छ । यस प्रविधिमा अत्यन्त सानो मात्रामा रेडियोधर्मी पदार्थ प्रयोग गरेर विभिन्न अंगहरूको कार्यक्षमता अध्ययन गरिन्छ । क्यान्सरको मूल्याङ्कनमा यसको ठूलो भूमिका भए पनि उपयोग त्यतिमै सीमित छैन । न्युक्लियर इमेजिङबाट मुटुको रक्तसञ्चार कस्तो छ ? मिर्गौलाले कति प्रतिशत कार्य गरिरहेको छ ? कुनै अंगको कार्यक्षमता घटेको छ कि छैन ? जस्ता महत्वपूर्ण जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैले आधुनिक चिकित्सा विज्ञानमा न्युक्लियर मेडिसिनलाई कार्यात्मक इमेजिङको महत्वपूर्ण आधार मानिन्छ ।

डोटा स्क्यानः विशेष प्रकारका ट्युमरका लागि लक्षित परीक्षण
सबै क्यान्सर एउटै प्रकृतिका हुँदैनन् । केही दुर्लभ क्यान्सरमा साधारण पेट–सिटीले पर्याप्त जानकारी दिन सक्दैन । यस्तो अवस्थाका लागि प्रयोग हुने विशेष परीक्षण हो डोटा स्क्यान । यो विशेषगरी न्युरो इन्डोक्राइन ट्युमर पहिचानका लागि विकसित गरिएको अत्याधुनिक न्युक्लियर मेडिसिन प्रविधि हो ।

यसमा प्रयोग हुने विशेष रेडियोट्रेसर ट्युमरका कोशिकामा रहेका विशिष्ट रिसेप्टरसँग मात्र जोडिन्छ । त्यसैले सामान्य पेट–सिटीले नदेखाएका साना ट्युमर पनि डोटा स्क्यानले अत्यन्त स्पष्ट रूपमा देखाउन सक्छ । यसले चिकित्सकलाई रोगको सही स्थान, शरीरभरि फैलावट, उपचारको उपयुक्त विधि, लक्षित औषधि वा रेडियोन्युक्लाइड थेरापीको सम्भावना मूल्याङ्कन गर्न महत्वपूर्ण सहयोग पुऱ्याउँछ ।

आधुनिक रेडियोलोजीः सही निदानदेखि व्यक्तिगत उपचारसम्म
आजको रेडियोलोजी एक्स–रे वा सिटी स्क्यानमा मात्र सीमित छैन । अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआई, एमआरसीपी, इन्टेरोग्राफी, पेट–सिटी, न्युक्लियर इमेजिङ र डोटा स्क्यानजस्ता अत्याधुनिक प्रविधिले रोग कहाँ छ भन्ने मात्र नभई त्यसको जैविक व्यवहार, फैलावट, पुनः दोहोरिने जोखिम र उपचारको सम्भावनासमेत विश्लेषण गर्न सक्षम बनाएका छन् । यही कारण आधुनिक क्यान्सर उपचारमा रेडियोलोजी निदानको साधन नभई उपचारको दिशा तय गर्ने महत्वपूर्ण वैज्ञानिक आधारका रूपमा स्थापित भइसकेको छ । सही समयमा उचित इमेजिङ प्रविधिको प्रयोग गर्न सकेमा उपचार अझ सटीक, प्रभावकारी र बिरामी–केन्द्रित बन्न सक्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पेट