नेपाल हेल्थ न्युज, पर्वत। पर्वतको कुश्मास्थित प्रादेशिक अस्पतालमा उपचाररत बिरामीका आफन्तले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नुका साथै हातपात गरेका छन्।
अस्पताल प्रशासनका अनुसार २०८३ कात्तिक १५ गते बिहान १२ः०५ बजे अन्तरंग विभागमा उपचार गराइरहेका कुश्मा नगरपालिका–२ का एक बिरामीका आफन्तले मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका नर्सिङ कर्मचारीमाथि गालीगलौज र कुटपिट गरेका हुन्।
घटना भएपछि अस्पतालको आन्तरिक सुरक्षा टोली र प्रहरीको सहयोगमा हातपातमा संलग्न मुख्य आरोपितलाई नियन्त्रणमा लिइएको थियो। उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरीको जिम्मा लगाइएको अस्पताल प्रशासनले जनाएको छ।
कार्यस्थलमै स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाएको छ। बिरामीको उपचार र सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि हुने यस्ता गतिविधिले उनीहरूको सुरक्षासँगै सेवा प्रवाहमा समेत नकारात्मक असर पार्ने अस्पतालको भनाइ छ।
अस्पतालले उपचारका क्रममा कुनै असन्तुष्टि, जिज्ञासा वा गुनासो भए सम्बन्धित प्रशासनिक तथा कानुनी माध्यमबाट समाधान खोज्न सकिने स्पष्ट पारेको छ। तर, असन्तुष्टिका नाममा स्वास्थ्यकर्मीमाथि आक्रमण र दुर्व्यवहार गर्नु स्वीकार्य नहुने प्रशासनले जनाएको छ।
घटनामा संलग्न व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०६९) अनुसार कारबाही गर्न अस्पतालले सम्बन्धित निकायसँग माग गरेको छ।
साथै अस्पतालले बिरामी, आफन्त तथा सरोकारवाला सबैलाई संयमित व्यवहार गर्न आग्रह गर्दै स्वास्थ्य संस्थालाई सुरक्षित र मर्यादित कार्यस्थल बनाउन सहयोग गर्न अपिल गरेको छ।
अस्पताल उद्घाटन विवादमा गोली लागेर घाइते पासवानको टीयू शिक्षण अस्पतालमा उपचार हुँदै
आइतबार, कात्तिक १५, २०८३
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य घट्दै, व्यापारिक नाफा ३० प्रतिशतमा सीमित
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल हब बनाउने सरकारी तयारी, कार्यदल गठन गरिने
आइतबार, कात्तिक १५, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
