नेभिगेशन

औषधिको समुचित प्रयोगबारे तेस्रो ‘आईएसआईयुएम’ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा हुँदै

नेपाल हेल्थ न्युज, काठमाडौं। औषधिको तर्कसंगत प्रयोग, औषधि सुरक्षासँगै बढ्दो एन्टिबायोटिक प्रतिरोधको चुनौतीबारे अन्तर्राष्ट्रियस्तरमा विमर्श गर्न तेस्रो अन्तर्राष्ट्रिय औषधि सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

इन्टरनेशनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन (आईएसआईयुएम) को आयोजनामा ‘मेडिसिन इन डिजिटल वर्ल्ड’ नारासहित होटल र्‍याडिसनमा हुन लागेको तीनदिने सम्मेलनमा नेपालसहित २३ देशका करिब १५० जना स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, चिकित्सक, फार्मासिस्ट, नर्स तथा विद्यार्थी सहभागी हुँदैछन्।

सम्मेलनले औषधिको अनावश्यक तथा अव्यवस्थित प्रयोगबाट उत्पन्न समस्याको पहिचान, न्यूनीकरण र औषधिको तर्कसंगत प्रयोगलाई प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।

नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष तथा सम्मेलनको स्थानीय आयोजक समितिका अध्यक्ष डा. कादिर आलमले औषधिको समुचित प्रयोग सुनिश्चित गर्न जनचेतना अभिवृद्धिसँगै नीतिगत र संस्थागत प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार औषधिको विवेकपूर्ण प्रयोगका लागि बिरामी, चिकित्सक र औषधि व्यवसायीको जिम्मेवारीसँगै सरकारले पनि प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्छ।

सम्मेलनमा ६२ वटा पोस्टर प्रस्तुति र २५ वटा मौखिक अनुसन्धान प्रस्तुति रहनेछन्। यसका अतिरिक्त चारवटा मुख्य सम्बोधन, दुईवटा प्लेनरी सत्र, विभिन्न समानान्तर सत्र तथा कार्यशाला सञ्चालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आईएसआईयुएमकी डा. फातिमा सुलेमानले औषधिको उचित प्रयोग सुनिश्चित गर्न जनचेतना र सरकारी तहबाट प्रभावकारी अनुगमन अपरिहार्य रहेको बताउनुभयो।

उहाँले कुन औषधि किन, कसरी र कुन अवस्थामा प्रयोग भइरहेको छ भन्ने विषयमा अध्ययन तथा मूल्यांकन गर्न सके बिरामीको औषधिमा पहुँच, उपचारको गुणस्तर र चिकित्सकीय निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो।

सम्मेलनको अर्को महत्वपूर्ण विषय एन्टिबायोटिकको अनावश्यक प्रयोग र त्यसबाट उत्पन्न भइरहेको प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) हुनेछ। विशेषगरी भाइरल संक्रमणमा एन्टिबायोटिकको प्रयोगले उपचारमा अपेक्षित लाभ नदिने भन्दै चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न सहभागी वक्ताहरूले सचेत गराएका छन्।

त्यस्तै, चिकित्सकले पनि बिरामीलाई एन्टिबायोटिक सिफारिस गर्नुअघि संक्रमणको प्रकृति, औषधिको आवश्यकता र सम्भावित प्रभावको उचित मूल्यांकन गर्नुपर्नेमा जोड दिइएको छ।

आयोजकका अनुसार सम्मेलनमा प्रस्तुत हुने अनुसन्धान, अनुभव र छलफलबाट प्राप्त निष्कर्ष समेटेर विस्तृत प्रतिवेदन तयार गरिनेछ। उक्त प्रतिवेदनमार्फत औषधिको सुरक्षित, प्रभावकारी र तर्कसंगत प्रयोगका लागि आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा सरकार र सम्बन्धित नीति निर्मातालाई सुझाव दिइनेछ।

औषधिको प्रयोगलाई थप जिम्मेवार, वैज्ञानिक र बिरामीमैत्री बनाउने उद्देश्यसहित आयोजना हुन लागेको सम्मेलनले स्वास्थ्य सेवा प्रणालीमा औषधिको उचित प्रयोगसम्बन्धी नीति तथा अभ्यास सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट