नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको संख्या र उपलब्ध सिटबीच ठूलो अन्तर देखिएको छ। चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा १० हजारभन्दा बढी विद्यार्थी सफल भए पनि देशभर उपलब्ध सिट संख्या भने २ हजार ७४५ मात्रै रहेको छ। यसले आगामी भर्ना प्रक्रियामा विद्यार्थीबीच प्रतिस्पर्धा थप कडा हुने संकेत गरेको छ।
शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएसतर्फ ११० सिट वृद्धि गरिएको आयोगले जनाएको छ। सिट थपिएपछि कुल संख्या २ हजार ७४५ पुगेको हो। तर, प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको संख्या उपलब्ध सिटको तुलनामा निकै बढी छ।
चिकित्सा शिक्षा आयोगले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी भएका २० हजार ५७९ परीक्षार्थीमध्ये १० हजार ३२१ जना उत्तीर्ण भएका छन्। अर्थात् परीक्षामा सहभागीमध्ये झण्डै आधा विद्यार्थीले निर्धारित उत्तीर्णाङ्क हासिल गरेका हुन्। आयोगका कार्यकारी उपाध्यक्ष प्राडा. देवेन्द्र खत्रीले एमबीबीएस एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिनुभएको छ।
यस वर्षको परीक्षामा एक विद्यार्थीले सर्वाधिक १८७.५ अङ्क प्राप्त गरेका छन्। आयोगले तोकेको उत्तीर्ण मापदण्डअनुसार परीक्षार्थीले ५०औँ पर्सेन्टाइल अर्थात् कम्तीमा ५६.२५ अङ्क ल्याउनुपर्ने व्यवस्था थियो।
यद्यपि प्रवेश परीक्षामा सफल हुनु मात्रै मेडिकल कलेजमा भर्ना पाउने आधार होइन। विद्यार्थीको प्राप्ताङ्कअनुसारको योग्यताक्रम, उपलब्ध सिट तथा आरक्षण कोटाको व्यवस्थाले भर्नाको अन्तिम अवसर निर्धारण गर्नेछ।
नतिजा सार्वजनिक भएसँगै अब चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत भर्ना प्रक्रिया अघि बढ्ने भएको छ। उत्तीर्ण विद्यार्थीको संख्या ठूलो र सिट सीमित रहेकाले एमबीबीएस अध्ययनका लागि यस वर्ष पनि विद्यार्थीले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिएको छ।
१८ दिने शिशुको मृत्युपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा तनाव
बुधबार, मंसिर २, २०८३
चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक नखान औषधि व्यवस्था विभागको आग्रह
बुधबार, मंसिर २, २०८३
प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता
बुधबार, मंसिर २, २०८३
