नेभिगेशन

न्यून गुणस्तरको पाइएपछि सेफ्टम ५०० औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको पाइएपछि सेफ्टम ५०० नामक औषधिको बिक्री वितरण रोक्का गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरेको उक्त औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तरअनुसार नरहेको पाइएको जनाएको छ।

विभागका अनुसार आर्या फर्माल्याब प्रालि, छतापिपरा, बाराद्वारा उत्पादित उक्त औषधिको ब्याच नम्बर एफसीएफटी २३०१० रहेको छ।

उक्त ब्याचको औषधि परीक्षण गर्दा सन् २०२६ को अमेरिकी औषधि मापदण्डअनुसार घुलनशीलता परीक्षणमा असफल भएको पाइएको हो। उक्त औषधिको उत्पादन मिति सन् २०२६ अप्रिल र प्रयोग गर्न सकिने अन्तिम मिति सन् २०२८ मार्च रहेको विभागले जनाएको छ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बिक्री वितरण रोक्का गरी बजारमा रहेका औषधि तत्काल फिर्ता गर्न विभागले सम्बन्धित उद्योग तथा प्रतिनिधिहरूलाई निर्देशन दिएको छ। साथै, फिर्ता गरिएका औषधिको विवरण विभागमा पेस गर्नसमेत भनिएको छ।

विभागले उक्त ब्याच नम्बरका औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन चिकित्सक, औषधि व्यवसायी, स्वास्थ्य संस्था तथा सर्वसाधारणलाई आग्रह गरेको छ। जनस्वास्थ्यको सुरक्षालाई ध्यानमा राख्दै विभागले सम्बन्धित सबैलाई उक्त औषधिको प्रयोग तथा कारोबार तत्काल रोक्न अनुरोध गरेको छ।

arya-pharma-1795160998.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट