नेभिगेशन

डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र स्वास्थ्य मन्त्रालयबीच आठ बुँदे सहमति

नेपाल हेल्थ न्युुज, काठमाडौं। आन्दोलनरत डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आठ बुँदे सहमति भएको छ। सहमतिसँगै एसोसिएसनले गर्दै आएको रिले अनशन अन्त्य गर्ने र मन्त्रालयमा गरिएको तालाबन्दी खोल्ने निर्णय गरेको छ।

विगतमा भएका सहमतिको पूर्ण कार्यान्वयन, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को संरचनागत तथा कानुनी सुधार र प्रतिनिधित्वसम्बन्धी समस्या समाधानको माग राख्दै एसोसिएसनले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

मन्त्रालयसँग भएको सहमतिअनुसार डेन्टलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन क्लस्टरलाई छुट्टै व्यवस्था गरी निर्वाचनमार्फत नै प्रतिनिधित्व सुनिश्चित गरिनेछ। त्यस्तै, २०८२ माघ ४ गते भएको सहमति, परिषद् सदस्यको थपघट तथा भत्तासम्बन्धी विषय आगामी पहिलो मन्त्रिपरिषद् बैठकमा पेस गर्ने सहमति भएको छ।

एसोसिएसनले कात्तिक २७ गते मन्त्रालयमा पेस गरेको पत्रमार्फत परिषद्को संरचनागत, कानुनी तथा प्रतिनिधित्वसम्बन्धी समस्या समाधान गर्न र विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरेको थियो। माग सम्बोधन नभएको भन्दै एसोसिएसनले मङ्सिर ७ गतेदेखि आन्दोलनका कार्यक्रम सुरु गरेको थियो।

आन्दोलन चर्किएपछि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट वार्ता समिति गठन गरेको थियो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिर अधिकारी र मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल सदस्य रहेका थिए।

आठ बुँदे सहमतिपछि आन्दोलनरत पक्षले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ। तर, सहमति कार्यान्वयनमा ढिलाइ वा बेवास्ता भएमा थप कडा संघर्षका कार्यक्रम सञ्चालन गर्दै आमरण अनशनसम्म बस्न बाध्य हुने चेतावनी एसोसिएसनले दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट