
स्वदेशमा प्रत्यारोपण सेवा नभएपछि ओलीले भारतको दिल्ली र सापकोटाले लखनऊमा गई मिर्गाैला प्रत्यारोपण गराएका हुन्।
यी उदाहरणबाट पनि विशेषगरी पुरुषलाई मिर्गौला दान गर्नेमा महिला बढी भएको पुष्टि हुन्छ। ‘महिलाको मन विशाल हुन्छ। त्यही भएर नै मिर्गौला दान दिन उनीहरू अघि सरेको हुनुपर्छ’, घिमिरेले भनिन्।
नेपालमा पहिलो पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरिएको अहिले १० वर्ष पुगेको छ। यस अवधिमा पाँच सय ६ जना पीडितले मिर्गौला प्रत्यारोपण गराइसकेको अस्पतालका नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा. दिव्यासिंह शाहले बताइन्। तीमध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिला छन्। १६ वर्षमुनिका आठ जना बालबालिकाको पनि प्रत्यारोपण गरिएको छ। मिर्गौला प्रत्यारोपणको सुविधा लिनेमा पुरुषको संख्या बढी छ। तर मिर्गौला दान दिनेमा भने महिला अघि रहेको उनको पनि स्वीकारोक्ति छ।
शिक्षण अस्पताल मात्र होइन, भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रबाट पाँच वर्षयता ४ सय ७८ जनाले मिर्गौला प्रत्यारोपण सेवा लिएका छन्। केन्द्रका बिरामीमध्ये मिर्गौला लिनेमा ७८ प्रतिशत पुरुष र २१ प्रतिशत महिला रहेको केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। मिर्गौला दान गर्नेमा चाहिँ ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेको उनको भनाइ छ।
मिर्गौला दान दिनेमा महिलाभन्दा पुरुषको संख्या आधा कम रहेको शिक्षण अस्पतालका वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. उत्तमकुमार शर्माले बताए। शिक्षण अस्पतालमा भने ६८ प्रतिशत महिला र ३२ प्रतिशत पुरुषले मिर्गौला दान दिएका छन्। अहिले सातामा औसत दुई जनाले मिर्गौला प्रत्यारोपण सेवा लिइरहेको उनको भनाइ छ।
सामूहिक कार्यले गर्दा मिर्गौला प्रत्यारोपणमा अन्तर्राष्ट्रियस्तरको सेवा दिन सकेकोमा गौरवबोध भएको चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीश अग्रवालले बताए। एक दशकयता सरकारी शिक्षण अस्पताल, वीर अस्पताल र अन्य नीजि अस्पतालमा पनि प्रत्यारोपण सेवा लिने बढ्दै गएका छन्। हालसम्म एक हजारभन्दा बढी बिरामीले स्वदेशमै मिर्गौला प्रत्यारोपण सेवा लिइसकेका छन्। अन्नपुर्णपोष्टबाट
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ
