नेभिगेशन

अस्पतालमा फार्मेसी सञ्चालन गर्ने ठाउँ र भण्डारणको अभावले औषधिको गुणस्तर र बिरामीको सुविधामा ध्यान पुग्न नसकेको गुनासो

जनस्वास्थ्य सरोकार, काठमाडौं ।हस्पिटल फार्मेसी सञ्चालन गर्दा बिरामीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । हस्पिटल फर्मासिस्ट एसोसिएसन अफ नेपाल (हस्पान) ले राजधानीमा आयोजना गरेको ‘हस्पिटल फार्मेसीका वर्तमान स्थिति र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो आवाज उठाएका हुन् । सो अवसरमा हस्पिटल फार्मेसी सञ्चालनमा व्यवसायिक र मार्केटिङ ज्ञानको अभाव, गैर फार्मेसिष्टहरुको बाहुल्यता, अस्पतालमा फार्मेसी सञ्चालन गर्ने ठाउँ र भण्डारणको अभावले औषधिको गुणस्तर र बिरामीको सुविधामा ध्यान पुग्न नसकेको गुनासो व्यक्त गरियो । हस्पिटल फर्मासिष्ट एसोसिएसन अफ नेपाल (हस्पान) का अध्यक्ष बाबुराम अधिकारीले बिरामीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हस्पिटल फार्मेसी सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले यसबारे सरोकारवाला निकायहरुसँग बृहत छलफल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सो अवसरमा औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक गजेन्द्रबहादुर भुजुले हस्पिटल फार्मेसीहरु डकुमेन्टेसनको आधारमा सञ्चालन हुन नसकेको बताउनुभयो । सो अवसरमा नेपाल औषधि व्यवसायी संघका केन्द्रिय महासचिव रामचन्द्र शर्माले औषधिको गुणस्तरमा सम्झौता गर्न नहुने र सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नयाँ बानेश्वरको इन्द्रणी फूडल्याण्डमा आयोजना गरिएको सो कार्यक्रममा अस्पताल फार्मेसी सञ्चालन गर्ने ४ दर्जनभन्दा इन्चार्जलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमलाई हर्मोन र स्टेरोइड उत्पादन गर्ने नेपालको पहिलो फर्मास्युटिकल्स कम्पनि नेपाल रिमेडिज प्रा.लि. (एनआरपिएल) ले सहयोग गरेको थियो ।    

 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट