नेभिगेशन

नेपाल नेत्रज्योति संघको २६ औं अधिवेशन राजधानीमा सम्पन्न, अध्यक्षमा प्रा.डा. चेतराज पन्त

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नेत्रज्योति संघमा प्रा.डा. चेतराज पन्तको अध्यक्षतामा २४ सदस्यीय केन्द्रिय कार्यसमिति गठन भएको छ । कात्तिक २२ र २३ गते राजधानीमा सम्पन्न संघको २६ औं अधिवेशनले प्रा.डा. पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । संघको पदेन उपाध्यक्षहरुमा श्याम सुन्दर उदाश, रविन्द्र लाल चौधरी, ऋषिराम पौडेल, प्रा.डा दिलबहादुर क्षेत्री, सागर प्रताप राणा, तिलक मल्ल, चक्रबहादुर सिंह मनोनित हुनुभएको छ । यसैगरी सदस्यहरुमा कृष्ण कुमार गिरी, द्रोण प्रसाद गुरागाईं, बिष्णुदत्त जोशी, धनबहादुर बस्नेत, भरतबहादुर चन्द, प्रा.डा.घनश्याम भट्राई, भरतबहादुर चन्द, प्रा.डा.घनश्याम भट्राई, श्यामकुमार पोखरेल, चिजकुमार मास्के, हरि प्रसाद शर्मा, भागवत राउत, डा.गोपाल प्रसाद पोखरेल, डा. नन्द श्रेष्ठ, मञ्जु कँडेल, भगवती शर्मा, श्री युद्धध्वज सापकोटा, श्री अस्मिका राई निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको कार्यकाल २ वर्षको रहने व्यवस्था छ । नवनिर्वाचित अध्यक्षले सदस्यहरुलाई कार्य विभाजन गरेर जिम्मेवारी दिने संघको विधान अनुसार चाँडै नै अध्यक्षले संघलाई पूर्णता दिने संघका कार्यकारी निर्देशक शैलेसकुमार मिश्रले बताउनुभयो । अधिवेशनको उद्घाटन समारोहमा बोल्नुहुँदै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले स्वास्थ्य नीति २०७६ मा आँखालाई आधारभुत स्वास्थ्य सेवा भित्र समाहित गरिएकाले प्राथमिक स्वास्थ्य केन्द्रहरुमा स्नातक गरेको अप्थाल्मोजी प्राविधिक र सेकेन्डरी अस्पतालहरुमा आँखा विशेषज्ञ राखेर उपचार सेवा सञ्चालनमा ल्याइने गृहकार्य भइरहेको बताउनुभयो । संघका निवर्तमान अध्यक्ष प्रा.डा. तिर्थ मिश्रले समुदाय, सरकार तथा दात्री निकायहरुसँग सुमधुर सम्बन्ध र समन्वयन स्थापित गर्दै विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको ‘सन् २०२० सम्ममा सबैका लगि दृष्टि’ को लक्ष्य हाँसिल गर्न पूर्ण क्षमताका साथ काम गर्र्दै आएको बताउनुभयो । नेसनल एकेडेमी अफ मेडिकल साइन्स न्याम्सका उपकुलपति प्रा. डा. डि. एन. शाहले नेपाल नेत्रज्योती संघले मुलुकमा नेत्र स्वास्थ्यमा पुर्याएको योगदानको कदर गर्नुभयो । यस वर्ष संघले आँखा उपचारमा उत्कृष्ठ योगदान दिएवापत् गेटा आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. सुरेश राज पन्तलाई नगत रु ५० हजार र प्रशंसापत्रले सम्मान गरेको छ । त्यस्तै लामो समयदेखि प्रशासनमा काम गर्ने हिमालय आँखा अस्पतालका एकाउन्ट अफिसर बामदेव सुवेदी र अर्घाखाँची आँखा अस्पतालका अप्थाल्मिक अफिसर सागर घिमिरेलाई जनही नगत रु २५ हजार नगत सहित सम्मान गरेको छ । अधिवेशनले बार्षिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम, २०७६÷७७ को कार्यक्रम तथा आयव्यय विवरण स्वीकृत, २०७५/२०७६ को लेखा परीक्षण स्वीकृत गरेको छ । यसैगरी २०७६÷०७७ को लेखा परीक्षकको नियुक्ती र पारिश्रामिक निर्धारण गरेको छ । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित १९ आँखा अस्पतालहरु र ९३ वटा आँखा उपचार केन्द्रहरु मार्फत वर्षेनी १२ लाख भन्दा बढी नेत्ररोगीहरुलाई बहिरङ्ग सेवा प्रदान गर्दै आएको संघका केन्द्रिय महासचिव श्यामकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार संघले वर्षेनी ३ लाख ५० हजार भन्दा बढी नेत्ररोगीहरुको मोतियाविन्दु लगायतका विभिन्न रोगहरुकोे शल्यक्रिया सेवा प्रदान गरेको छ । नेसंघ वि. सं. २०३७ साल चैत्र १३ गते स्थापना भएको मुनाफारहीत सामाजिक संस्था हो । संघले अहिले ४२ ओटा जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ । संघले आँखालाई आधारभुत स्वास्थ्य उपचार सेवामा एकत्रित गर्न आउँदो पाँच वर्ष भित्र सबै स्थानीय निकायमा ३ सय ५० ओटा आँखा उपचार केन्द्र खोल्ने योजना अघि सारेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ