जनस्वास्थ्य सरोकार, काठमाडौँ । बिरामी, चिकित्सक र न्याम्स पदाधिकारी उक्लिने छुट्टाछुट्टै लिफ्ट । सामान ओसार्ने छुट्टै । सर्वसाधारण चढ्ने पनि छुट्टै । पार्किङ, फोहोर व्यवस्थापन, लोन्ड्री र विद्युतीय व्यवस्थापन सबै जमिनमुनिको तलामा । क्यान्टिन सेवा पनि अन्डरग्राउन्ड । सभा, सेमिनार र सम्मेलन गर्न ठूलो हल । पाँच सय शय्याको सुविधासम्पन्न नौतले भवन । अबको एक वर्षभित्र देशको पुरानो र ठूलो अस्पताल वीरको स्वरूप यसरी फेरिनेछ । यो स्वरूप वीरको निर्माणाधीन सर्जिकल भवनको हो । भवनको आधा निर्माणकार्य सकिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रेक्टर डा. सुबोध अधिकारीले बताए ।
‘शल्यक्रिया सेवाजति सबै यही भवनबाट हुनेछ, माथिल्लो तलामा न्याम्सको कार्यालय हुनेछ,’ उनले भने, ‘दुई अर्ब लगानीमा भवन बनेपछि बिरामीले सजिलै सेवा पाउनेछन् । न्याम्सका विद्यार्थीले पनि पठनपाठनको सहज वातावरण पाउनेछन् ।’ हरेक तलामा आवासीय चिकित्सकका लागि छुट्टै कोठाको समेत व्यवस्था गरिएको उनले बताए ।
बिरामीका लागि सुविधासम्पन्न हुनेछ भने कुरुवाले चिसो भुइँमा सुत्नु पर्दैन । कुरुवाका लागि छुट्टै बेड र सामान राख्ने लकरको व्यवस्था हुनेछ ।
‘शल्यक्रिया गरेका बिरामी राख्न मात्रै २० बेडको आईसीयू कक्ष हुन्छ,’ उनले भने, ‘न्युरो सर्जरी र मुटु शल्यक्रियाका बिरामीलाई १० बेडको आईसीयू राखिनेछ ।’
दुई वर्षदेखि निर्माणाधीन यो सर्जिकल भवन अबको एक वर्षभित्र सम्पन्न हुने योजना छ । यो भवन बनेसँगै बिरामीले शल्यक्रियाका लागि एक वर्षसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा राखिएको छ किनकि यो भवनमा शल्यकक्ष मात्रै १५ वटा हुनेछन् । जहाँबाट दैनिक ८० वटासम्म बिरामीको शल्यक्रिया गर्न सकिनेछ । अहिले वीरमा शल्यकक्ष अभावका कारण ६ वटा ठूला शल्यक्रिया गर्न सम्भव भइरहेको उनले बताए ।
मुटु, मिर्गौला, कलेजो, हाडजोर्नीलगायत ठूला शल्यक्रियादेखि सामान्य शल्यक्रिया सेवा सजिलो बनाउन निर्मित यो भवनमा जमिनमुनि मात्रै दुई तला छन्, जहाँ सवारी पार्किङको व्यवस्था हुनेछ । भुइँतलामा रेडियोलोजी विभाग र सूचना केन्द्र हुनेछन् । ‘बिरामी भर्ना गर्ने, डिस्चार्ज गर्नेदेखि सबै सूचना एकै ठाउँमा हुन्छ,’ डा. अधिकारीले भने, ‘बिरामीको रोजाइअनुसार उनीहरूले एक कोठाको क्याबिनदेखि ६ जनासम्म बस्न मिल्ने क्याबिन रोज्न सक्नेछन् ।’
अत्याधुनिक संरचनाको यो भवनमा प्राइभेट क्याबिन बेड मात्रै २१ वटा हुने उनले बताए । अहिले वीरको मुख्य भवनका भएको भीभीआईपी र भीआईपी उपचारकक्ष पनि थप सुविधायुक्त बनाएर उतै सारिनेछ । चिकित्सक, नर्सलगायत अन्य कर्मचारीका लगि पनि छुट्टै कोठा हुनेछन् । ‘शल्यकक्ष लिफ्टबाट सिधै रेडियोलोजी विभागमा झर्न मिल्छ,’ उनले भने ।
वीरलगायत राजधानीमा सरकारी अस्पतालले नयाँ भवन निर्माण गरिरहेका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ), कान्ति बाल अस्पताल र भक्तपुर अस्पतालको पनि नयाँ भवन निर्माण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । ‘यसमध्ये ठूलो लगानीचाहिँ वीर अस्पतालकै लागि गरिएको हो । बिस्तारै अन्य अस्पताल भवन निर्माणमा पनि लगानी गरिनेछ,’ उनले भने ।
शिक्षणमा अहिले सुरेश वाग्ले क्यान्सर भवन निर्माण भइरहेको छ । स्वास्थ्य मन्त्रालयको करिब एक अर्ब बजेट लगानीमा यो भवन बनिरहेको अस्पतालका निर्देशक डा. प्रेम खड्गाले बताए । ‘क्यान्सरका बिरामीका लागि ओपीडीदेखि शल्यक्रियासम्मका सेवा यही भवनबाट हुनेछन्,’ उनले भने । भवनको ८० प्रतिशत काम सकिसकेकाले आगामी वर्षबाट भवन सञ्चालनमा आउने उनको भनाइ छ ।
कान्तिपुर दैनिकबाट
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
