
डोल्पाको जगदुल्ला गाउँपालिका-५ माझगाउँकी लवाना धराला सुत्केरी बेथाले च्यापेपछि गाउँकै बर्थिङ सेन्टरमा गइन्। बच्चाको हात पहिले नै निस्केको भए पनि स्वास्थ्यकर्मीले उनलाई सुत्केरी गराउन सकेनन्। जिल्ला सदरमुकाम दुनै पुग्न दुई दिन लाग्ने भएकोले उनलाई समयमै अस्पताल पुर्याउन असम्भवप्राय: थियो। तत्काल उपचार नपाए ज्यानै जान सक्ने अवस्था आएपछि धरालालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पुर्याइयो। स्वास्थ्यकर्मीले दिएको मिति कटेको २१ दिनपछि शल्यक्रिया गरेर उनको गर्भबाट मृत बच्चा निकालियो। "त्यो पीडा सम्झँदा बाँचिएला जस्तो लागेकै थिएन, तर हेलिकप्टरले बँचायो," उनी भन्छिन्। गर्भाशयमा बच्चा उल्टो बसेकाले कालीकोटकी रत्ना शाहीले पनि सामान्य रूपमा बच्चा जन्माउन सकिनन्। तुरुन्तै उपचार नगरे आमा र बच्चा दुवैको ज्यान जान सक्ने अवस्था आएपछि उनलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगियो। शल्यक्रियापछि छोरीलाई जन्म दिएकी उनी भन्छिन्, "धन्न बाँचियो! हेलिकप्टर नपाएको भए मर्नुबाहेक अरू उपाय थिएन।" तेस्रो बच्चा गर्भमा हुँदा बेथा लागेको सात दिनसम्म पनि सुत्केरी हुन नसकेर छटपटाइरहेकी छेडागाड नगरपालिका-९ पजारु जाजरकोटकी पानसरा टमटालाई यही कार्तिक २७ गते हेलिकप्टरबाटै उद्धार गरियो। हेलिकप्टर नआएको भए मरिन्थ्यो भन्दै प्रदेश अस्पताल सुर्खेतमा सुत्केरी भएकी उनी भन्छिन्, "मरिन्छ कि भन्ने लागेको थियो, अहिले नयाँ चोला पाएको अनुभूति भयो।"
जीवनदान
पाँच वर्षअघिबाट सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन गरेको हवाई उद्धार सेवा लवाना, रत्ना र पानसराजस्ता धेरै महिलालाई जीवनदान दिएको छ। यो अवधिमा जटिल स्वास्थ्य समस्या भएर ज्यानै जाने अवस्था पुगेका ५७ जना गर्भवती र सुत्केरी महिलालाई बचाएको सरकारी अधिकारीहरूले बताए। स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको हवाई सेवा प्रभावकारी बनेपछि गत वर्षदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत पनि यो सेवा सञ्चालन गरिएको सरोकारवालाहरूले बताएका छन्। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत एअर लिफ्ट कार्यक्रमकी अञ्जु ढुङ्गानाले २०७५ पौष महिनादेखि हालसम्म उद्धार गरिएका ५९ महिलामध्ये ३० जना कर्णाली प्रदेशका रहेको बताइन्।प्रभावकारी
जटिल स्वास्थ्य समस्याले गर्दा अकालमै ज्यान गुमाउने अवस्थामा पुगेका विकट ठाउँका गर्भवती र सुत्केरी महिलालाई तुरुन्तै उद्धार गर्ने भएकोले कर्णालीमा हवाई सेवा निकै प्रभावकारी भएको स्वास्थ्य निर्देशक रिता भण्डारी जोशी बताउँछिन्। पहिला धेरै जना सुत्केरी र गर्भवतीले अकालमै ज्यान गुमाउने गरेको उल्लेख गर्दै उनी भन्छिन्, "हवाई सेवाले गर्दा त्यो सङ्ख्या एकदमै न्यून भएको छ।'
कठिनाइ
तर जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती र सुत्केरीलाई भनेको समयमै उद्धार गर्न सहज नभएको स्वास्थ्यकर्मीहरू बताउँछन्। कार्मारोङ गाउँपालिका मुगुमा कार्यरत अनमी सृष्टि पुन भन्छिन्, 'तुरुन्तै उद्धार गर्नुपर्ने हुन्छ। तर खराब मौसम, साँझ पाँच बजेपछि हेलिकप्टर नआउने आदि कारणले भनेको समयमा उद्धार गर्न कठिनाइ हुन्छ।" केन्द्र सरकारले सञ्चालन गरेको यो सेवालाई कर्णाली प्रदेश सरकारले पनि गत वर्षदेखि निरन्तरता दिएको छ। हवाई सेवाको लागि गत वर्ष डेढ करोड विनियोजन गरेको प्रदेश सरकारले यसबर्ष ५० लाख रुपैयाँ छुट्ट्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। कर्णालीका कतिपय स्थानीय तहले जटिल अवस्थाका गर्भवती र सुत्केरीलाई आफ्नै पैसाले हेलिकप्टरबाट उद्धार पनि गरेको जनाएका छन्। हेलिकप्टरबाट उद्धार गरेर दुई महिलाको ज्यान बचाएको जाजरकोटको कुशे गाउँपालिकाले उल्लेख गरेको छ। उपकरण र चिकित्सक हेलिकप्टरबाट उद्धार गरेका महिलाका आफन्तहरू दुर्गम गाउँका महिलाका लागि त्यसो गर्नु वरदान नै भएको बताउँछन्। यही कार्तिक २१ गते कालिकोटबाट उद्धार गरिएकी रत्नाकी आफन्त गीता शाही भन्छिन्, "विकट गाउँका महिलाको लागि हवाई सेवा भगवान् हो।" तुरुन्तै हेलिकप्टर नआए मर्नुबाहेक अर्को विकल्प नहुने भन्दै डोल्पाकी लवाना धराला सुत्केरीलाई भत्ता दिनुभन्दा पनि दुर्गम गाउँका स्वास्थ्य संस्थामा बच्चाको अवस्था थाहा पाउने उपकरण र चिकित्सक पठाउन सरकारसँग आग्रह गर्छिन्। पत्नीको चिन्ताले सात दिनसम्म रोएर दिन बिताएको उल्लेख गर्ने पानसरा टमटाका पति वीरजित टमटा अहिले सबै पीडा बिर्सिएको बताउँछन्।श्रेय लिने होड





