तनहुँको दमौली अस्पतालमा स्थापना भएको शत्रुघ्न मन्जु डायलासिस केन्द्रले मङ्गलबारबाट चार वर्ष पूरा गरेको छ।
विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो।
केन्द्रले चार वर्षको अवधिमा २४ हजार ९८६ पटक डायलासिस सेवा प्रदान गरिएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए। उनका अनुसार केन्द्रबाट हालसम्म २१० मिर्गौलापीडितले डायलासिस सेवा लिएका छन्। केन्द्रमा नियमित डायलासिस गराउने मिर्गौलापीडितको सङ्ख्या भने ७२ रहेको छ।
केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलासिस सेवा लिइरहेका छन्। लमजुङ, गोरखा, स्याङ्जा, कास्कीका मिर्गौलापीडितले केन्द्रबाट नियमितरूपमा डायलासिस सेवा लिइरहेका पण्डितले जानकारी दिए। पण्डितका अनुसार हप्तामा दुईपटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६६ र हप्तामा तीनपटक डायलासिस सेवा लिने मिर्गौलापीडित छ जना रहेका छन्।
केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेका छन्। केन्द्रमा दैनिक २४ देखि २७ मिर्गौलापीडितले डायलासिस सेवा लिइरहेका छन्। मिर्गौैलापीडितको चाप बढेकाले मागअनुसार सेवा दिन कठिन भएको छ।
केन्द्रमा एकैपटक नौ जनाले डायलासिस सेवा लिन सक्छन्। भानु नगरपालिका–४ निवासी मुरली रानाभाटले दमौलीमै डायलासिस केन्द्र स्थापना भएपछि सहज भएको बताए। लमजुङका कमानसिंह गुरुङले पनि दमौलीबाट डायलासिस सेवा लिन पाउँदा सजिलो भएको बताए।
हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो। केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा एक करोड सहयोग गरेका थिए भने पछि उपकरण थप गर्नका लागि २५ लाख रपैयाँ सहयोग गरेका थिए।
केन्द्रमा शुरुमा एक करोड २० लाखको लागतमा छ डायलाइसिस उपकरण जडान गरिएका थिए। पछि तीन उपकरण थप गरेपछि केन्द्रमा हाल नौ डायलासिस उपकरण रहेका छन्।रासस
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३

