जनस्वास्थ्य सरोकार, काठमाडौँ। वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा. युवराज लिम्बु यतिखेर शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निमित्त कार्यकारी निर्देशक हुनुहुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला तेह्रथुममा जन्मिएका डा. लिम्बुले चीनको औधोगिक शहर संघाईको संघाई मेडिकल युनिभर्सिटी (हाल फुतान युनीभर्सिटी) बाट चिकित्साशास्त्रमा स्नातक, कार्डियोलोजीमा स्नातकोत्तर र पीएचडी गर्नुभएको छ । उहाँ केन्द्रमा करिब २० वर्षदेखि निरन्तर रुपमा कार्यरत हुनुहुन्छ ।
निमित्त कार्यकारी निर्देशक भैसकेपछि के कस्ता योजना अघि बढाउनु भएको छ ?
विगत लामो समयदेखि कार्यरत रहेकाले केन्द्रको सेवा सुबिधा बिस्तारहरुबारे जानकार छु । जतिसक्दो चाँडो बिरामी, आगन्तुक र कर्मचारीहरुको सुविधालाई ध्यानमा राखेर केन्द्रको भौतिक संरचनामा सुधार गर्नेछौं । अध्ययन, अनुसन्धान, ट्रेनिंग लगायत अन्य एकेडेमिक कार्यहरुलाई व्यवस्थित गर्नेछौं । कार्डियोलोजी, कार्डियोभास्कुलर सर्जरी र पिडियाट्रिक कार्डियोलोजी सेवा अन्तर्गतका सुपर स्पेसियालिटी एवं प्रिभेन्टिभ सेवाहरुलाई अझ वैज्ञानिक, प्रभावकारी र सर्वसुलभ बनाउने छौं । आकस्मिक, नर्सिङ सेवा र ल्याब सेवालाई गुणस्तरीय बनाउन प्रतिबद्ध छौं । हस्पिटल प्रशासन र आर्थिक अनुसाशनलाई प्रभावकारी बनाउँदै केन्द्रलाई शैक्षिक संस्थाको रुपमा विकास गर्ने र नेपालका सातै प्रदेशमा क्रमश गुणस्तरीय सेवा उपलब्ध गराउने अभियानमा काम अघि बढेको छ ।
केन्द्रमा बिरामीको चाप कस्तो छ ?
बिरामीको चाप बढिरहेको छ । दैनिक ६ सय—७ सय बिरामीहरुले बहिरंग सेवा लिन्छन् । चाड पर्व र मौसम प्रतिकुल नभएको अवस्थाबाहेक अन्तरंग सेवाअन्तर्गत सम्पूर्ण हस्पिटल बेडहरु प्रायः शत्प्रतिशत नै उपयोग भइरहेका छन् ।
आकस्मिक सेवा र सुबिधा कतिको भरपर्दो र जनमुखी छ ?
चिकित्सकीय ज्ञानमा हरसंभव अपडेट रहन्छौं । प्रविधिहरुको पूर्ण रुपमा उपयोग गरिरहेका छौं । आकस्मिक बिरामीहरुले पाउने सेवा भरपर्दो छ । देशभरिबाट बिरामीहरु आउने भएकोले केन्द्रको सेवा जनमुखी छ ।
केन्द्र पुग्ने सबैले सेवा पाउन सक्छन ?
हालसम्म बिरामीहरुको उपचारमा कमी आउन दिएका छैनौं । दिनानुदिन बिरामीको चाप बढ्दै जाँदा थप भौतिक पूर्वाधार र दक्ष जनशक्तिबारे सोच्नैपर्छ । बिरामीको चापले केन्द्रमा बेड नपुग्दा कहिलेकाहीँ अन्तै रिफर गर्नुपर्ने अवस्था पनि आउँछ ।
यसलाई कसरी सहज बनाउन सकिएला ?
आकस्मिक र बहिरंग सेवा नयाँ भवनमा सरेपछि बिरामीको भीड व्यस्थापनमा केहि सहज भएको छ । बिरामीहरुको संख्या र चापलाई ख्याल ख्याल गरेर भौतिक संरचनामा सुधार गरी अझ सहज र व्यवस्थित बनाउने योजना छ ।
राजनीतिक दवाव कतिको आउँछ ?
पोलिटिकल कलर र पोलिटिकल फ्लेभरको आधारमा उपचार गर्न हाल सम्म कुनै दवाव आएको छैन । नेपाल सरकारको सहयोगमार्फत् ७५ बर्ष मथिका जेष्ठ नागरिक र १५ वर्ष मुनिका बालबालिकाहरुको मुटुरोगसम्बन्धि सम्पूर्ण उपचार निःशुल्क छ । नेपाल सरकारको सहयोगमा प्रत्येक विपन्न नागरिकले रु.एक लाख रुपियाँसम्मको उपचार खर्चमा छुट पाउँछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
अन्तर्वार्ता
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
मंगलबार, फागुन २६, २०८२ट्रेन्डिङ
