जनस्वास्थ्य सरोकार, मोरङ । पथरी–३ का १९ वर्षीय चन्द्र दर्जीले एक वर्षअघि करेन्ट लागेर दाहिने हात गुमाउनुप¥यो । झापाको अर्जुनधारा जलेश्वरधाममा निःशुल्क रूपमा कृत्रिम हात प्रत्यारोपण गर्न पाउँदा उनले हर्षको आँशु खसाइन ।
सत्तरी वर्षको बुढ्यौलीमा बागलुङ नगरपालिका–३ का रेवतीरमण पौडेलले पनि अर्जुनधाराधाममा कृत्रिम खुट्टा लगाएकी छन् । भारतको नागाल्याण्डमा रोजगारीका सिलसिलामा काम गर्दा २५ वर्षअघि गाडी दुर्घटनामा परेर उनले खुट्टा गुमाउनुपरेको थियो ।
दर्जी र पौडेल मात्र होइन, ताप्लेजुङको सिरीजङ्गा –५ का २२ वर्षीय राजकुमार भण्डारीलगायत २०० जनाले अर्जुनधाराधाममा आयोजित कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रमबाट सोमबार निःशुल्क लाभ उठाएका छन् । भण्डारीले ११ वर्षका उमेरमा विद्यालय जाने क्रममा रुखले किचेर एउटा खुट्टा गुमाएका थिए ।
स्वामी हेमानन्द गिरीको विशेष पहलमा कोलकाता भारतको महावीर सेवा सदनले जलेश्वरधाममा यही मङ्सिर १३ देखि २० गतेसम्म कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रम आयोजना गरेको हो । मुलुकका विभिन्न जिल्लाबाट ४०० भन्दा बढीले कृत्रिम हातखुट्टा लगाउनका लागि धाममा नाम लेखाएको र प्रत्यारोपण धमाधम भइरहेको शङ्कराचार्य गिरीले बताए । धामले आफ्नो ३७औँ वार्षिक धार्मिक अनुष्ठानको अवसर पारेर कृत्रिम हातखुट्टा प्रत्यारोपण कार्यक्रम आयोजना गरेको धामका अध्यक्ष नवीन गट्टानी बताउँछन् । टाढाबाट सेवा लिन आउनेलाई धामले खाने र बस्ने व्यवस्थासमेत निःशुल्क उपलब्ध गराएको छ ।
महावीर सेवा सदनले झापामा पहिलो पल्ट यस्तो शिविर सञ्चालन गरेको हो । कोलकाताबाट सात प्राविधिकको टोली अर्जुनधाराधाममा आएर कृत्रिम हातखुट्टा बनाउने अस्थायी कारखाना नै स्थापना गरेको छ । हातखुट्टा गुमाएका व्यक्तिको नापजाँच गरेर स्वास्थ्य परीक्षणपछि सोही कारखानामा कृत्रिम अङ्ग निर्माण गरिने भारतबाट आएका मुख्य प्राविधिक मुकेश पाण्डेले जानकारी दिए । प्राविधिकसमेत कृत्रिम हातखुट्टा प्रत्यारोपण गरेका व्यक्ति छन् ।
कृत्रिम हातखुट्टा लगाएपछि कम्तीमा पाँच वर्षसम्म कुनै मर्मतसम्भारविना हिँडडुल र सामान्य काम गर्न सकिने प्राविधिक पाण्डे बताउँछन् । प्रत्यारोपण गरिएको हात र खुट्टा साङ्गसरह देखिन्छ । अस्पतालमा एउटा कृत्रिम हात वा खुट्टा प्रत्यारोपण गर्दा रु ७५ हजारसम्म पर्ने बताइएको छ । यहाँ निःशुल्क उक्त सेवा उपलब्ध हुँदा सेवाग्राही दङ्ग छन् । स्वामी हेमानन्द धार्मिक संस्थाले गरीब, असहाय र पीडितलाई यसैगरी उद्धार हुने किसिमका सेवा प्रदान गर्नुपर्ने बताउँछन् ।
मधुमेहका कारण घाउ फैलिएर एक वर्षअघि एउटा खुट्टा काट्नुपरेको पीडा व्यहोर्दै आउनुभएका भद्रपुर–१ की ७० वर्षीया धनमाया तामाङले कृत्रिम खुट्टा लगाउन पाउँदा पुनःजन्म भएजस्तो खुशी लागेको बताए । उनले भने, “पोहोर साल नोबेल अस्पतालमा खुट्टा काट्नुपर्दा साह्रै पीर लागेर धेरै दिन रोएकी थिएँ, अहिले उस्तै खुट्टा जोडिदिँदा पहिलेजस्तै हिँडडुल गर्न सक्ने भएकी छु, खुशी लागेको छ ।”
महावीर सेवा सदन कोलकाताले गत साता अर्जुनधाराधाममै निःशुल्क आँखा शिविरसमेत आयोजना गरेको थियो । तीन हजार ७०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको शिविरमा पाँच हजारभन्दा बढीले उपचार सेवा लिएका थिए । आँखा शिविर र कृत्रिम हातखुट्टा प्रत्यारोपणमा सदनले रु एक करोडभन्दा बढी नै खर्च गरेको आयोजकले जनाएको छ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिको सुरक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले नै लिनुपर्ने संवैधानिक व्यवस्था छ । एक लाखभन्दा बढी अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षाभत्ता पाइरहेको तथ्याङ्क पाइए तापनि कतिले कृत्रिम हातखुट्टा पाएका छन् भन्ने तथ्याङ्क भेटिँदैन । रासस
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ


