ठगी, करणी र अन्य फौजदारी आरोपमा पक्राउ परेपछि उच्च पदस्थ तथा प्रभावशाली व्यक्तिहरू अचानक बिरामी पर्ने र अस्पताल भर्ना हुने प्रवृत्तिप्रति मानिसहरूको चासो बढ्दै गर्दा प्रहरी तथा चिकित्सकले त्यो प्रवृत्तिले आफूलाई पनि पेसागत चुनौती थपिदिएको प्रतिक्रिया दिएका छन्। हालैका दिनमा विभिन्न फौजदारी मुद्दामा पक्राउ परेपछि त्यस्ता केही आरोपितहरू अचानक बिरामी परेर अस्पताल भर्ना भएका विवरणहरू सार्वजनिक भएपछि त्यस विषयमा धेरैको चासो बढ्न थालेको हो। एक महिलाले आफूलाई करणी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले मंसिर १६ गते विराटनगरको एक निजी अस्पतालको आईसीयूबाटै सिद्धबाबा तथा कृष्णदासजी महाराज उपनामले चिनिने एक साधुलाई नियन्त्रणमा लिएर सुनसरी जिल्ला अदालत पुर्यायो। अनुसन्धानका लागि पटकपटक म्याद थप भएको भए पनि उनी अहिलेसम्म त्यही अस्पतालको आईसीयूमै छन्।
'मुटुको चाल एक्कासि बढेको'
उनका एक सहयोगी श्याम पौडेलका अनुसार कृष्णदासजीको "मुटुको चाल एक्कासि बढेकाले" उनलाई अस्पताल लगिएको थियो। उनले भने, "चिकित्सकका अनुसार उहाँलाई सामान्य हृदयाघात भएको रहेछ। तर अहिले उपचारका क्रममा उहाँको अवस्थामा सुधार भइरहेको छ।"
स्वास्थ्य समस्या कस्ता
चिकित्सक तथा प्रहरीका अनुसार हालैका दिनमा पक्राउ परेर अस्पताल लगिएका फौजदारी कसुरका आरोपितहरूमा "रक्तचाप तलमाथि हुने, छाती दुख्ने र अत्तालिने" जस्ता स्वास्थ्य समस्या देखिएका छन्। राजधानी काठमाण्डूमा स्वास्थ्यमा समस्या भएको गुनासो आउनेबित्तिकै प्रहरीले धेरैजसो थुनुवालाई उपचारका लागि वीर अस्पतालमा लैजाने गर्छ।
हिरासतको अवस्था कस्तो
नेपाल प्रहरीका अनुसार प्रहरी हिरासत रहेका कतिपय भवन "पुराना र पर्याप्त हावा प्रवाह नहुने अवस्थाका" हुनाले पनि "कोही बिरामीलाई सास फेर्न गाह्रो हुने" जस्ता समस्या देखिने गरेका छन्। काठमाण्डू प्रहरीका डीएसपी होबिन्द्र बोगटीका अनुसार गत दशैँको घटस्थापनाका दिन पक्राउ परेका महरालाई अनामनगरस्थित हिरासतमा राखिएको थियो। "त्यहाँभित्र हावा कम भएकोले उहाँलाई सास फेर्न कठिन भएको गुनासो गर्नुभयो। त्यसपछि उहाँलाई अस्पताल लगियो, जहाँ चिकित्सकहरूले उहाँलाई भर्ना गर्नु पर्ने सिफारिस गरिदिए।" उनले भने, "चिकित्सकले गरेको सिफारिसलाई प्रहरीले सम्मान गर्नैपर्छ।"आईसीयूमै प्रहरी
सुनसरीका डीएसपी विनोद शर्माका अनुसार चतराका कृष्णदासजी पक्राउपुर्जी जारी गर्ने बेलादेखि नै बिरामी परेर विराटनगरस्थित एक अस्पताल भर्ना भएका थिए। उनी अस्पताल भर्ना भएको पनि दुई साता बितिसकेको छ।उनलाई अदालतमा उपस्थित गराउनुपर्ने बेलामा अवस्था झनै खस्किएको खबर प्रहरीले पायो। शर्माले भने, "पछि उहाँलाई सामान्य खालको हृदयाघात नै भएको भनेर चिकित्सकहरूले भन्नुभयो। त्यसपछि उहाँ निरन्तर आईसीयूमा नै हुनुहुन्छ। हामीलाई उहाँको निगरानीका लागि प्रहरीलाई अस्पतालमा नै तैनाथ राखेका छौँ।"अस्पताल खोज्ने अर्को कारण
प्रहरी अधिकारीका अनुसार प्राय: प्रहरी हिरासतको अवस्था सामान्य र सुविधासम्पन्न नभएका कारण पनि आरोपितहरू "हिरासत छल्न अस्पताल जान खोज्ने" प्रवृत्ति बढेको हुन सक्छ। काठमाण्डू प्रहरीका डीएसपी होबिन्द्र बोगटीले बीबीसीसँग भने, "सुविधा र विलासयुक्त वातावरणमा बस्न अभ्यस्त ठूलाबडा आरोपितहरूलाई सामान्य प्रहरी हिरासतमा बस्न कठिन हुन सक्छ। त्यसैले पनि उहाँहरूले अस्पताल जान खोज्ने होला।" तर बिरामी सक्कली हो कि नक्कली हो भनेर छुट्याउन प्रहरीलाई गाह्रो हुने उनले बताए। "थुनुवाले 'अचानक छाती दुख्यो', वा 'सास फेर्न गाह्रो भयो' भनेपछि हामी अस्पताल लगिहाल्छौँ। त्यहाँ फेरि चिकित्सकले बकाइदा 'भर्ना गरी उपचार गर्नुपर्छ' भनेर लेखिदिएपछि हामीले के गर्ने?"
चिकित्सा आचार संहिता के भन्छ ?
चिकित्सकको आचारसंहितामा बिरामी र उनीहरूको व्यथाको गोपनीयताको चिकित्सकले सम्मान गर्ने भनेर लेखिएको हुन्छ। त्यसैले बिरामीको वास्तविक अवस्था चिकित्सकले गोप्य राख्ने गर्छन्। पक्राउ पर्नेबित्तिकै आरोपितहरू अस्पताल भर्ना हुने बढ्दो प्रवृत्तिबारे चिकित्सकहरूको नियमन गर्ने निकाय नेपाल मेडिकल काउन्सिल पनि सचेत रहेको एक पदाधिकारीले बताए। नेपाल मेडिकल काउन्सिलको चिकित्सा आचरण तथा आचारसंहिता समितिका सदस्य डा. कालुसिंह खत्रीका अनुसार त्यो विषयमा काउन्सिलको ध्यानाकर्षण भएपनि त्यस विषयमा काउन्सिलको बैठकमा अझै कुनै औपचारिक छलफल भएको छैन। उनले भने, "बदनियतपूर्वक आरोपितहरूलाई नक्कली बिरामी बनाउने प्रवृत्ति खेदजनक छ। त्यसो गरेको प्रमाणित भएमा दर्ता नै खारेज हुन्छ। तर प्रमाणित गर्न कठिन छ।" तर प्रहरी र चिकित्सक एउटा कुरामा एकमत छन्: स्वास्थ्यस्थिति बिग्रिएको वा बिरामी भएको बेलामा स्वास्थ्य र चिकित्सकीय सेवा पाउनु पक्राउ परेका वा अन्य व्यक्तिको नैसर्गिक अधिकार हो। डा. खत्री भन्छन्, "त्यो अधिकारलाई कसैले हनन गर्न मिल्दैन।"
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ


