
प्रत्यारोपणका लागि हालैका दिनमा मृगौला प्राप्त गर्ने सम्भावना नाटकीय रूपमा बढेको छ। यसको श्रेय भने एकजना अर्थशास्त्री एल्भिन रथलाई जान्छ। रथले आर्थशास्त्रको सिद्धान्त प्रयोग गरेर संसारमा मृगौला सहज रूपमा प्राप्त हुन सक्नेगरी मृगौलादान प्रक्रियामा क्रान्ति ल्याइदिएका छन्। रथले यसो नगरेको भए नयाँ मृगौला प्रत्यारोपण गरेर बाँचिरहेका हजारौँ मानिसहरू कि अहिलेसम्म पनि रोगग्रस्त हुन्थे या मरिसक्थे। अरू अङ्ग प्रत्यारोपणभन्दा मृगौला प्रत्यारोपण फरक छ किनभने दुईमध्ये एउटा मात्र मृगौलाले पनि काम गर्ने भएकाले मानिसले जीवित हुँदा नै एउटा मृगौला दान गर्न सम्भव छ। तपाईँ आफ्नो नजिकका नातेदारलाई एक मृगौला दान गर्न चाहनुहुन्छ भने पनि धेरैजसो रोगीको मृगौलासँग तपाईँको मृगौला 'म्याच' नहुन सक्छ अर्थात नमिल्न सक्छ। त्यस्तो अवस्थामा तपाईँले मिल्ने किसिमको मृगौला भएको दाता कुर्नुपर्थ्यो। रथले 'मृगौला साटासाट' सिद्धान्त ल्याए जसमा मृगौला दाताहरूलाई एकठाउँमा ल्याएर मृगौला साटासाट गरिन्छ जसले गर्दा रोगीलाई म्याच हुने मृगौला छिटो प्राप्त होस्।
मृगौला साटासाट
यसरी साटासाट गरिएका थुप्रै उदाहरणहरू छन्। एकपटक त ७० मृगौलाहरू साटिएका थिए। इरानबाहेक अन्य देशमा मृगौला बेच्नु अवैधानिक छ। धेरैजसो सरकार अङ्ग बेचबिखनको वस्तु नबनोस् भनेर त्यसलाई कानूनी बनाउन चाहँदैनन्। प्राध्यापक रथ भन्छन्, "संसारभर रहेको मृगौलाको बजारमा हामी पैसालाई कुनै भूमिका खेल्न दिँदैनौँ।"
जर्मन र परिवर्तन
नोबेल पुरस्कारप्राप्त व्यक्ति र अन्य प्रतिष्ठित व्यक्तिहरू जर्मनीको राजधानी बर्लिनमा स्वास्थ्य सेवाको भविष्यबारे छलफल गर्न भेला भएका थिए। रथ पनि त्यहाँ थिए किनभने जर्मनीमा मृगौला साटासाट वैधानिक छैन। उनी भन्छन्, "नयाँ विकासक्रमसँग बजारका लागि नियम परिवर्तन गरे जस्तै मृगौलाका लागि प्रशासनिक कानुनहरू आधुनिक र नयाँ क्षमताका आधारमा अद्यावधिक गराइरहनुपर्ने हुन्छ।" जर्मन स्वास्थ्य मन्त्रालयलये यो विषयमा सार्वजनिक बहस आयोजना गर्ने योजना बनाइरहेको बतायो तर त्यसको कार्यतालिका हालसम्म सार्वजनिक भएको छैन। रथले जर्मन प्रतिबन्धपछाडिको चासो आफूले बुझेको बताए। उनी भन्छन्: "उनीहरू अङ्ग बेचबिखनका लागि ओसारपसार होला भन्नेप्रति चिन्तित छन्।"




