
भाइरस सङ्कक्रमणको चर्चा हुँदा धेरै देखिने तस्बिर भनेको 'सर्जिकल मास्क'ले नाक मुख छोपेका मानिसहरूको हो। सामान्यतया चिकित्सकहरूले अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गर्ने सेतो वा हल्का हरियो रङ्गको मास्क थुप्रै देशमा मानिसहरूले सङ्क्रमणबाट जोगिन प्रयोग गर्छन्। चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलिरहँदा त्यस्तो मास्कको प्रयोग भैरहेको छ तर त्यहाँ वायु प्रदुषणको मात्रा उच्च हुँदा पनि मानिसहरू त्यस्तो मास्क लगाउने गर्छन्। भाइरसविज्ञहरू हावाबाट सर्न सक्ने भाइरसबाट जोगिन त्यस्तो सर्जिकल मास्क प्रभावकारी हुने कुरामा शङ्का व्यक्त गर्दछन्। तर हातबाट मुख छोइँदा सङ्क्रमण सर्न सक्ने अवस्थामा भने त्यस्ता मास्क प्रभावकारी हुने केही प्रमाण भने छ।
मास्कको प्रयोग
अठारौँ शताब्दीमा पहिलोपल्ट अस्पतालहरूमा सर्जिकल मास्कको प्रयोग हुन थालेको हो। तर सन् १९१९ मा पाँच करोड मानिसको ज्यान लिनेगरी स्पेनिश फ्लुको महामारी फैलिएपछि मात्र पहिलोपल्ट सार्वजनिक रूपमा पनि त्यस्तो मास्कको प्रयोग भएको हो। युनिभर्सिटि अफ लण्डनको सेन्ट जोर्जेजका डा. डेभिड क्यारिंगटनले भने, "सामान्य प्रकारका सर्जिकल मास्कले हावामा हुने भाइरस र ब्याक्टेरियाबाट सर्वसाधारणलाई प्रभावकारी सुरक्षा दिँदैन।" धेरैजसो भाइरसहरू हावाबाट नै मानिसमा सर्ने गर्छ। त्यस्ता मास्कहरूले नाक र मुख छोप्ने भएपनि ती खुकुला हुन्छन् र तिनमा हावा फिल्टर गर्ने व्यवस्था हुँदैन एवम् आँखा पनि छोप्दैनन्। तर हाच्छिउँ वा खोकीबाट र हातले मुख छुँदा भाइरस सर्न सक्ने अवस्थाबाट भने त्यस्ता मास्कले केही हदसम्म सुरक्षा दिन सक्छन्। न्यू साउथ वेल्समा सन् २०१६ मा गरिएको एक अनुसन्धानका अनुसार मानिसहरूले एक घण्टामा औसत २३ पटक आफ्नो अनुहार छुने गर्दछन्।
एनएचएसको सुझाव
ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले फ्लुजस्ता रोग लगाउने भाइरसबाट बच्नका लागि निम्न उपायहरू अपनाउन सकिने सुझाव दिएको छ:- मनतातो पानी र साबुनले नियमित रूपमा हात धुने
- सकेसम्म आफ्नो आँखा र नाक नछुने
- स्वस्थ र तन्दुरूस्त जीवनशैली अपनाउने



