
हाम्रो फोक्सोमा धुम्रपानका कारण पुगेको क्षति आफै निको पार्ने चमत्कारी क्षमता हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन्। तर फोक्सोको चमत्कारी काम धुम्रपान त्यागेपछि मात्रै सम्भव हुने उनीहरूले बताएका छन्। यसअघि फोक्सोमा क्यान्सर गराउने क्षति स्थायी प्रकृतिको हुने सोचिएको थियो। तर नयाँ अध्ययनले क्षति नपुगेको कोषहरूले क्षतिग्रस्त कोषहरूलाई निको पार्न सहयोग गर्ने पाइएको छ। नेचर जर्नलमा प्रकाशित शोधका अनुसार फोक्सोसँग धुम्रपानका कारण भएका आनुवंशिक क्षति निको पार्ने जादुमयी क्षमता हुन्छन् जुन धुम्रपान त्यागेमा सम्भव हुन्छ। क्षति नभएका फोक्सोका थोरै कोषहरूले फोक्सोका क्षतिग्रस्त कोषहरूलाई निको हुन सघाउने त्यो अध्ययनबाट थाहा भएको छ। चालिस वर्षसम्म दैनिक २० खिल्ली चुरोट पिउने बिरामीहरूमा समेत यस्तो सकारात्मक प्रभाव देखिएको छ।



