विश्वस्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ।
दुई सय जनाभन्दा बढीको ज्यान लिइसकेको सो सङ्क्रमणलाई विश्वव्यापी सङ्कट घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताइएको छ। चिनियाँ अधिकारीहरूले उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको बताउँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोनाभाइरसका कारण विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो। अहिलेसम्म कम्तीमा २१३ जनाको मृत्युको भएको पुष्टि भइसकेको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त घोषणा गर्नुका पछाडि मुख्य कारण चीनबाहिर यसको अवस्थालाई लिएर भएको बताएका छन्। हाल उक्त सङ्क्रमण चीनबाहिर पनि फैलिसकेको छ। चीनबाहेक अन्यत्र नेपालसहित १८ देशमा ९८ जनामा सङ्क्रमण भएको पाइएको छ। तर चीनबाहिर यसका कारण कसैको ज्यान गएको छैन। कमजोर देशमा फैलिने चिन्ता विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिन सक्ने त्रास रहेको बताए। बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स गालाहरका अनुसार अहिले ९९ प्रतिशत सङ्क्रमणका घटना चीनभित्र नै पाइएको र चीनले तिनलाई नियन्त्रण गर्नेमा डब्ल्यूएचओ विश्वस्त रहेको पाइएको छ।
विदेशीको उद्धार
यसबीच सङ्क्रमणको केन्द्रमा रहेको वुहानबाट विदेशी नागरिक उद्धार गर्न विशेष चार्टर्ड गरिएका थप विमान शुक्रवार त्यहाँबाट उड्दैछन्।
वुहानमा पहिला पुष्टि भएका ४२५ सङ्क्रमणमा आधारित
- ५९ वर्षसङ्क्रमित व्यक्तिको औसत उमेर
- ८९%सङ्क्रमण भएको कम्तीमा पाँच दिनसम्म अस्पताल भर्ना भएनन्
- ५६%सङ्क्रमित व्यक्ति पुरुष
- ५५%नयाँ वर्षअघि भएका सङ्क्रमणको समुद्री खाद्यपदार्थसँग सम्बन्ध
पहिले पनि भएका थिए यस्ता घोषणा
यसअघि डब्ल्यूएचओले विभिन्न सङ्क्रमणका घटनामा पाँच पटक विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो।- स्वाइन फ्लू, २००९ - सन् २००९ मा फैलिएको एचवनएनवन (H1N1) भाइरसले दुई लाख मानिसको ज्यान लिएको थियो। विश्वले यसको गम्भीरतापूर्वक नियन्त्रण गर्न सकोस् भनेर स्वास्थ्य सङ्कटकाल घोषणा गरियो।
- पोलियो, २०१४ - सन् २०१२ मा उन्मूलनको सँघारमा पुगेको पोलियोको सङ्क्रमण २०१३ मा बढ्यो। उन्मूलनको प्रयासमा धक्का लाग्न सक्ने ठानिएर सङ्कटकाल घोषणा गरियो।
- जिका, २०१६ - खासगरी दक्षिण र उत्तर अमेरिकी महादेशमा द्रुत गतिमा फैलिएपछि डब्ल्यूएचओले जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो।
- इबोला, २०१४ र २०१९ - यो सङ्क्रमणलाई लिएर दुई पटक सङ्कटकाल घोषणा गरिएको थियो। पहिलो सङ्क्रमण अवधिमा सन् २०१४ को अगस्टदेखि सन् २०१६ को मार्चसम्म पश्चिम अफ्रीकी देशहरूमा ३०,००० मानिस प्रभावित भए र ११,००० भन्दा धेरैको ज्यान गयो। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएपछि गत वर्ष पनि सङ्कटकाल घोषणा भयो। बीबीसी




