काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री ढकालले नेपालमा चीनबाट फर्किएका १३ विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि परीक्षणपछि नेगेटिभ नतिजा आएको जानकारी दिनुभयो ।
“सन् २०२० जनवरी ९ मा चीनको वुहान प्रान्तबाट पढेर आएका १३ विद्यार्थीमा परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो, पछिल्लो समयमा परीक्षण गर्दा सबैमा नेगेटिभ देखिएको छ”, उहाँले भन्नुभयो, “नेपालमा अहिलेसम्म यो भाइरसको सङ्क्रमण देखिएको छैन ।”
मन्त्री ढकालले कोरोना भाइरसबाट सतर्क रहनका लागि विज्ञापन सामग्री बनाएको र प्रत्येक दिन बेलुका सञ्चारकर्मीसँग ब्रिफिङ गर्ने तयारीसमेत गरेको जानकारी दिनुभयो ।
चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा तथा विश्वका २३ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा मंगलबारसम्म ४२५ जनाको मृत्यु भएको छ । भने हङकङ र एक जनाको फिलिपिन्समा मृत्यु भएको हो ।
“सरकारले कोरोना भाइरसबाट बच्ने तयारी गरिरहेको छ, सोमबारको मन्त्रिपरिषद्को बैठकले पनि त्यसकै विषयमा गम्भीर छलफल गर्यो”, मन्त्री ढकालले भन्नुभयो, “अरु रोगभन्दा फरक खालको छ, बिरामी सिकिस्त देखिँदैन, दुईदेखि १४ दिनसम्म सङ्क्रमित हुनसक्छ ।” उहाँले बिरामीका बारेमा समाजमा पत्ता नलाग्न पनि सक्ने हुनाले उच्च सावधानी अपाउनुपर्नेमा जोड दिनुभयो ।
सरकारले चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी गरेको छ । मन्त्री ढकालका अनुसार कोरोना भाइरसको सङ्क्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको बताउनुभयो ।
मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा रहने गरी ३०० शैयासम्मको अस्पताल बनाउने र भविष्यका लागि यस्ता जोखिमबाट बच्नका लागि अस्पताल बनाउने तयारीमा रहेको जानकारी दिनुभयो ।
बैठकमा दिव्यमणि राजभण्डारी, मोहम्मद इस्तियाक राई, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, कृष्णभक्त पोखरेल, डिला सङ्ग्रौलासहित १४ सांसदले कोरोना भाइरस रोकथामका लागि कार्यक्रम ल्याउनुपर्ने र चीनबाट आउन चाहने नेपाली नागरिकलाई जतिसक्दो छिटो ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसदको जवाफ दिँदै मन्त्री ढकालले नेपाल फर्कन चाहनेले फारम भरिरहेका र आउन चाहने सबैलाई सरकारले ल्याउने तयारी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलमा ल्याएका व्यक्तिलाई परीक्षणका लागि हेल्थडेक्स राखेको र चिकित्सकको नेतृत्वमा २४ सै घण्टा सेवा तथा अस्पतालसम्म लानका लागि एम्बुलेन्स तयारी छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
