विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नयाँ कोरोनाभाइरसविरुद्ध चीनले चालेका कदमले सङ्क्रमणलाई विश्वब्यापी सङ्कट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ ।
जेनेभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताएका हुन् ।
प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्लुएचओको त्यस्तो प्रशंसा आएको हो । जेनेभास्थित राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत चेन छुले भने कतिपय प्रतिबन्धहरू डब्लुएचओको सुझाव विपरीत रहेको भन्दै यस प्रकोपबारे देशहरूले उग्र प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताएका छन् ।
महानिर्देशक टेड्रोसले चीनमा यात्रा र व्यापार प्रतिबन्धहरू नलगाउन विभिन्न देशहरूलाई आग्रह गरेका छन् । अहिलेसम्म २२ देशहरूले त्यस्तो निर्णय गरेकोमा टेड्रोसले ती ’छोटो समयका लागि र निरन्तरको समीक्षाबीच आवश्यकताका आधारमा’ हुनुपर्ने बताए ।
अहिलेसम्म यस भाइरसको सङ्क्रमणबाट ४९२ जनाको मृत्यु भइसकेको छ भने विश्वभर २४ हजारभन्दा धेरै मानिसमा यसको सङ्क्रमण फेला परेको पुष्टि भएको छ । यो नयाँ भाइरसबारे जनवरी ३० तारिखमा विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको थियो ।
कोरोना भाइरसको मुख्यभूमि चीनबाहिर अहिलेसम्म हङ्कङ र फिलिपिन्समा समेत एक एक जनाले ज्यान गुमाएका छन् । अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई सबैभन्दा पहिले भाइरस देखापरेको चीनको वुहान सहरबाट फर्किन निर्देशन दिएको छ ।
ब्रिटेन र फ्रान्सले समेत आफ्ना नागरिकहरूलाई सकेसम्म चीन छाड्न भनेको छ । ताइवानले शुक्रवारबाट मुख्यभूमि चीनको पछिल्लो दुई सातामा भ्रमण गरेका विदेशीको आगमनमा रोक लगाउने बताएको छ ।
मकाउले समेत आफ्नो अर्थतन्त्रको मुख्य स्रोत क्यासिनोहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मृत्यु हुनेमध्ये झण्डै ८० प्रतिशत ६० वर्ष भन्दा माथिका छन् भने ७५ प्रतिशतमा पहिल्यै मुटुरोग र मधुमेहजस्ता समस्या थिए ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
