नेभिगेशन

जाजरकोट जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा पाठेघर खसेका महिलाहरु पीडामै बस्न बाध्य

जाजरकोट । पचास श्ययाको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा पाठेघर खसेका महिलाको उपचारमा समस्या भएको छ । अधिकांश महिला वर्षौंदेखि पीडा बोकेर बस्न बाध्य छन् भने आर्थिक हैसियत बलियो भएका केही महिलामात्र जिल्ला बाहिर गएर उपचार गराउँछन् । आर्थिक अवस्था कमजोर भएका घरपरिवारका महिला रोग पालेर बस्ने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जाजरकोटमा करिब ४० हजार महिला प्रजनन् उमेरका छन् । तीमध्ये करिब ५० प्रतिशत पाठेघरको समस्याबाट पीडित रहेका जाजरकोट अस्पतालका डा भूपेन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षेनी करिब पाँच हजार महिलाले सन्तान जन्माउँछन् । पाठेघरको समस्याबाट १५ देखि ८० वर्षसम्मका महिला पीडित बनेका उहाँले बताउनुभयो । पाठेघर खस्ने समस्याबाट पीडित बनेको १३ वर्षसम्म उपचार नपाएको नलगाड नगरपालिका–६, कि गुलाबी ओलीले बताउनुभयो  । उहाँका छिमेकी ५९ वर्षीया कमला ओलीले पाठेघरको समस्याका कारण लामो समयदेखि थला परेको बताउनुभयो  । शुरुशुरुमा सबैलाई यस्तै होला भन्ने ठानेकी उहाँले केही वर्ष लाजकै कारण कसैलाई नभनेको बताउनुभयो  । अहिले हिँडडुल गर्न पनि समस्या हुने गरेको उहाँको भनाइ छ । चौध वर्षको उमेरमा विवाह गरेकी उहाँका सात सन्तान छन् । दुई वर्षयता सामान्य काम गर्न पनि गाह्रो हुने गरेको उहाँले बताउनुभयो । डा मल्लले ग्रामीण क्षेत्रका महिलामा पाठेघर खस्ने समस्या बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार सेतोपानी बग्ने, पाठेघर गन्हाउने, लामो समयदेखि तल्लो पेट दुख्नेलगायत समस्या बोकेर दैनिक करिब दर्जन बिरामी अस्पतालमा आउने गरेका छन् । सामान्य समस्या भएका बिरामीलाई औषधि दिएर पठाउने गरेको उहाँले बताउनुभयो  । “पाठेघरपीडित महिलाको उपचारका लागि अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउनुको विकल्प छैन”, डा मल्लले भन्नुभयो, “अधिकांश बिरामीलाई बाहिरका सुविधायुक्त अस्पतालमा रिफर गर्ने गरिएको छ ।” पछिल्लो पाँच वर्षमा विभिन्न सङ्घसंस्थाको सहयोगमा करिब एक हजार महिलाको पाठेघरको शल्यक्रिया गरिएको र करिब ७०० ले रिङ प्रेसरी राखेका उहाँले बताउनुभयो  । लाज, अपहलेना, बहुविवाह, घरयासी कामकाज गर्नुपर्ने बाध्यता, चेतनाको कमीलगायत कारण अधिकांश महिलाले आफ्नो रोग लुकाउने गरेका छन् । पाठेघरको समस्या भएका महिलालाई नेपालगञ्ज र सुर्खेतका विभिन्न अस्पतालमा सिफारिस गर्ने गरिन्छ । तर उनीहरू आर्थिक अभावमा जान सक्दैनन् । उपचार खर्च नहुँदा अधिकांश महिला जिल्लामा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा मात्र उपचार गराउन बाध्य छन् । गत साता छेडागाड नगरपालिकाका १२४ महिलाले शिविरमार्फत पाठेघरको उपचार गर्ने मौका पाए । नगरपालिकाले कोहलपुर मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा रामविश्वास रायको टोलीलाई मनघाटमा ल्याएर पाठेघर खस्ने समस्याका महिलालाई उपचार सेवा प्रदान गरेको थियो । कतिपय महिलाले आफ्नो समस्या थाहा पाएर पनि शल्यक्रिया गर्न नमानेको डा रायको भनाइ छ । दैनिक स्वास्थ्य संस्थामा उपचारमा आउने बिरामीमध्ये पुरुषको राम्रोसँग उपचार भए पनि महिला नखुल्दा समस्या हुँदै आएको छ । बिरामीलाई जाँच गर्न स्वास्थ्य संस्थामा ल्याए पनि आफूसँग भएको समस्या खुलेर राख्न नसक्दा महिलाहरु विभिन्न रोग पालेर बस्न बाध्य भएका छन् । लाजका कारण उनीहरु सबै समस्या नभनी रोग पालेर बस्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । आर्थिक अवस्था कमजोेर भएका र स्वास्थ्य संस्था पहुँचमा नहुँदा समस्या भोग्दै आएका महिला रोग पालेर बस्न बाध्य भएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट