नेभिगेशन

चीनबाट फर्कने नेपालीलाई नगरकोटमा पनि राखिने, विद्युत् प्राधिकरणका चार वटा भवन खाली गराईयो

भक्तपुर । चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ । चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले स्वदेश फर्काएर खरिपाटीस्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार सङ्कलनका लागि खरिपाटी पुगेका सञ्चारकर्मीलाई सोमबारदेखि मूलगेटबाटै प्रवेशमा रोक लगाइएको हो । सरकारले बाक्लो बस्ती भएको खरिपाटीमा चीनबाट फर्काउने नेपाली राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा, चाँगुनारायण नगरपालिका र यहाँका राजनीतिक दलले त्यसको विरोध गर्दै विकल्प खोज्न माग गर्दै आएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले चीनबाट फर्काइने नेपाली राख्ने ठाउँमा धमाधम काम भइरहेको र पत्रकार आउँदा काममा बाधा हुने भएकाले रोक लगाइएको बताउनुभयो । क्वारेन्टाइन स्थापना गर्न भने भौतिक संरचनाको व्यवस्था शहरी विकास मन्त्रालयले जिम्मेवारी लिएर तयारी गरिरहेको बताइएको छ । चीनबाट फर्काइएकामध्ये १२४ जनालाई यहाँ राख्ने र बाँकीलाई नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राख्ने तयारी गरी व्यवस्थापन गरिएको बताइएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारले नगरपालिकालाई कुनै जानकारी नगराएको भन्दै नगर परिषद्को बैठकबाटै यस ठाउँको विकल्प खोज्नलाई सरकारसँग आग्रह गरेको बताउनुभयो । सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको थप दुई वटा भवन खाली गराएको छ । यसैबीच, तीन दिनअघि प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएकामा त्यो अपुग रहेको भन्दै सोमबार क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरसमेत खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिनुभयो । होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिए पनि सोमबार शय्यासमेत अपुग रहेको भन्दै प्राधिकरणको होस्टेलको माथि सारिएको शय्या, पर्दा, फर्निचरलगायतका सामान लगेको उहाँले बताउनुभयो। चीनबाट फर्काइएकामध्ये १२४ जनालाई खरिपाटीस्थित प्राधिकरणमा र बाँकीलाई चाँगुनारायण नगरपालिका–६ स्थित खानेपानी तालिम केन्द्र पिपलबोटमा राख्ने तयारी भइरहेको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट