भैरहवा/बेँसीसहर : महामारीका रूपमा गत पुसदेखि चीनमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष असर नेपालका ठूला आयोजना निर्माणमा परेको छ । चिनियाँ कामदारले निर्माण गरिरहेका नेपालका राष्ट्रिय गौरवका आयोजना प्रभावित बनेका हुन् ।
अन्तिम चरणमा पुग्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुस्ताएको छ । यस्तै, बेँसीसहरमा निर्माणधीन न्यादी जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । चिनियाँ कम्पनीले निर्माण जिम्मा लिएका आयोजनामा आवश्यक जनशक्ति र सामग्री आपूर्ति हुन नसक्दा काम प्रभावित बनेको आयोजनाले जनाएका छन् ।
नयाँ वर्ष मनाउन चीन गएका कामदार कोरोना भाइरसको संक्रमणका कारण काममा फर्किएका छैनन् । एक महिना अघि नयाँ वर्ष मनाउन चीन गएका प्राविधिकसहित ५६ जना कामदार नेपाल फर्किएका छैनन् । उनीहरू नआउँदा काम ठप्प भएको आयोजनाले जनाएको छ । मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ३० मेगावाटको आयोजना ीनको चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले भने, ‘आयोजना प्रमुख, इन्जिनियर, प्राविधिक, कामदार सबै चीनमै अड्किएका छन् । यहाँ ४ जना चिनियाँ मात्र छन् । निर्माण ठप्प छ ।’ एक महिनायता निर्माण रोकिएको आयोजनाले जनाएको छ । उनीहरू फेब्रुअरी ५ मा नेपाल फर्किने तालिका थियो । कोरोना भाइरसका कारण उनीहरूलाई आउन दिइएको छैन । ‘उनीहरू नेपाल आउने तालिका अझै अनिश्चित छ,’ गुरुङले भने, ‘उनीहरू नआउन्जेल निर्माण अघि बढ्न सक्दैन । निर्माण रोकिँदा निर्धारित लक्ष्यमा काम नसकिने देखिन्छ ।’ ०७३ चैतमा निर्माण थालिएको आयोजना निर्माणको अन्तिम चरणमा छ । आगामी चैतमा विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो ।
आयोजनाको बाँध क्षेत्रको जग खनिसकिएको छ । न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यका अनुसार ३ दशमलव ८४ किलोमिटर लामो मुख्य सुरुङको ८५ प्रतिशत ढलान सकिएको छ । विद्युत्गृहको सिभिल संरचना निर्माण पनि सकिएको छ । आयोजनामा सुरुङसहित ७ सय २५ मिटर पेनस्टक पाइप रहनेछ । आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पनि आवश्यक प्राविधिक जनशक्ति र सामग्री आउन सकेको छैन । कोरोना फैलिने त्रासका कारण जनशक्ति र सामग्री कम्पनीले ल्याउन सकेको छैन । ‘विमानस्थलमा सम्बन्धित कामको लागि चीनबाट समूहगत रूपमा दक्ष जनशक्ति आवतजावत गर्छन्’ आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘तर अहिले कोरोना भाइरसका कारण चीनबाट आवत जावत रोकिएको छ । जसको असर आयोजनामा परेको हो ।’
विमानस्थलमा आइसीबी वान अन्तर्गत उपकरण जडान गर्न सकिएको छैन । टर्मिनल भवनमा ‘ब्यागेज हेन्डलिङ सिस्टम’ (बीएचएस) र धावनमार्गका लागि लाइटिङ साम्रगी जडानका सामग्री चीनबाटै आउने हो । तर अहिले आवतजावत ठप्प हुँदा प्राविधिक जनशक्ति र सामग्री दुवै आएको छैन ।
जसकारण विमानस्थलमा हाल जडान गर्नुपर्ने उपकरणहरू जडान हुन नसकेको उनले बताए । भौतिक संरचना निर्माणतर्फ साना काम भने जारी छ । हाल विमानस्थलमा एक सय ८५ जना कामदारहरूले काम गरिरहेका छन् । दक्ष प्राविधिकसहित ३७÷३८ जना चिनियाँ कामदार हुनुपर्नेमा अहिले २०÷२२ जनामात्र छन् । जनशक्ति अभावले मुख्य काम रोकिएको आयोजना प्रमुख अधिकारीले बताए ।
विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा छ । भाइरसको प्रभाव हटेमा तोकिएको अवधिभित्र काम सकिने भए पनि चीनबाट सामग्री र कामदार नआए काम लम्बिने प्रमुख अधिकारीको भनाइ छ । विमानस्थलको काम सम्पन्न गर्नका लागि चौथो पटक यही मार्च ३१ सम्मको लागि म्याद थपिएको छ ।
उनका अनुसार विमानस्थलको धावनमार्गको लाइटिङबाहेक लगभग सबै काम सकिएको छ । एप्रोनको काम पनि सकिएको छ । फिनिसिङको काम ४ प्रतिशत मात्र बाँकी छ । विमानस्थलको कुल ८६ दशमलव ५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।अन्नपूर्णपोष्टबाट
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
