नेभिगेशन

चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्न आवश्यक तयारी लगभग पूरा: उद्धार गर्ने योजनाबारे जान्नै पर्ने चार कुरा

 

कोभिड-१९ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्न आवश्यक तयारी लगभग पूरा भएको जानकारी सरकारी अधिकारीहरूले दिएका छन्। तर उक्त उद्धारबारे धेरै प्रश्न अनुत्तरित छन्। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट पनि ती प्रश्नहरू उठेका छन्। ती प्रश्नको उत्तर खोज्नका लागि बीबीसीले हुबेबाट नेपालीहरूको उद्धारको तयारीका लागि खटिएका केही अधिकारीहरूसँग कुरा गरेको छ। उनीहरूमध्ये केहीले औपचारिक रूपमा र केहीले अनौपचारिक रूपमा बीबीसीलाई उद्धारको अन्तिम तयारी र त्यसको सम्पूर्ण प्रक्रियाबारे जानकारी दिएका छन्। उनीहरूसँगको कुराकानीका आधारमा बीबीसी न्यूज नेपालीले हुबेमा रहेका नेपालीको उद्धारबारे यो सामग्री तयार पारेको हो।

विशेष उडान र त्यसको प्रक्रिया

हुबेमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउनका लागि सरकारले नेपाल वायुसेवा निगमको एउटा विमान तयारी अवस्थामा राखेको छ। उक्त जहाज शनिवार दिउँसो २:४५ बजे काठमाण्डूबाट चीनको हुबे प्रान्तको राजधानी वुहानका लागि उड्नेछ। त्यहाँबाट नेपाल आउन चाहने १८७ जनालाई लिएर उक्त विमान आइतवार बिहान २:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने योजना छ। कुल २७४ यात्रु बोक्न सक्ने उक्त विमानमा नेपाली सेनाका विशेष तालिमप्राप्त चार चिकित्सक पनि रहनेछन्। चालक दलका सदस्यका रूपमा त्यसमा तीन क्याप्टेन, छ क्याबिन क्रू, एक इन्जिनियर र एक लोडमास्टर गरी ११ जना रहनेछन्। विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरेर उनीहरू सबैलाई पठाउन लागेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्। उनका अनुसार चालकदलका सबै सदस्य र चिकित्सकले स्वास्थ्यसम्बन्धी तालिम पनि लिएका छन् भने भाइरस सङ्क्रमणबाट बच्नका लागि सुरक्षात्मक उपायहरू पनि अपनाइनेछ। वुहानमा पुगेपछि सबै नेपालीहरू विमानमा प्रवेश गरेपछि मात्र अन्तिममा चिकित्सा टोलीका चार जना विमानमा प्रवेश गर्नेछन्। नेपालमा विमान अवतरण भएपछि पनि सुरुमा उक्त टोलीका सदस्यहरू नै सबैभन्दा पहिले ओर्लिनेछन्।

चीनतर्फको तयारी

अधिकारीहरू र हुबे प्रान्तमा रहेका नेपालीहरूले बीबीसीलाई दिएको जानकारी अनुसार हुबेका विभिन्न स्थानमा रहेका नेपालीहरूलाई वुहानमा भेला पारेर स्वदेश फर्काइनेछ। त्यसका लागि स्वयंसेवकहरू तोकिएका छन् भने बेइजिङस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेको छ। नेपाल आउन चाहनेमा लगभग सबैजसो विद्यार्थीहरू रहेकाले उनीहरूलाई विश्वविद्यालयबाट सङ्क्रमण नहुने खालको मास्क र ज्याकेटआदि पोसाक प्रयोग गरेर सुरक्षित रूपमा मात्र सवारी साधनमा राखिनेछ। विश्वविद्यालयबाट निस्कनुअघि र विमानस्थलमा आइपुगेपछि पनि उनीहरूमा सङ्क्रमण रहेको वा नरहेको भन्ने परीक्षण गर्ने व्यवस्था गरिएको छ।दूतावासले स्वदेश फर्किन चाहनेहरूलाई बुधवार नै एउटा सर्तनामा भराएको छ भने बिहीवार उनीहरूलाई यात्राको विवरण पठाएको छ।  दूतावासले विद्यार्थीहरूलाई अत्यावश्यक सामग्री मात्र बोकेर आउन सूचित गरेको छ। उनीहरूले २० किलो लगेज र पाँच किलोसम्म ह्यान्डक्यारी बोक्न पाउनेछन्। उनीहरूलाई वुहानसम्म आउने बसमा पनि सङ्क्रमण हुन नदिन सुरक्षात्मक उपायहरू अपनाइएको जनाइएको छ। वुहानस्थित विमानस्थलमा आइपुगेपछि उनीहरूको शरीरको तापक्रम नापेर मात्र विमानमा बस्न दिइनेछ। त्यसपछि विमानमा पनि उनीहरूलाई चिकित्सा टोलीले निरन्तर निगरानी गर्नेछ। विमानमा चालकदलका सदस्यले पनि सुरक्षात्मक ज्याकेट र मास्क लगाएर उडान गर्नेछन्।

विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याउने व्यवस्था

उद्धारकार्यको तयारीमा खटेका कम्तीमा तीन अधिकारीहरूले बीबीसीलाई दिएको जानकारीअनुसार वुहानबाट आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विशेष विमान अवतरण भएपछि सुरुमा चिकित्सक टोली बाहिर निस्किनेछ।
त्रिभुवन अन्तर्राष्टिय विमानस्थल
उनीहरूले विमानभन्दा बाहिर धावनमार्गमै विशेष चिकित्सकीय निगरानीको प्रक्रिया पूरा गर्नेछन् र यात्रुलाई ओर्लिन दिनेछन्। त्यसपछि चिकित्सक, चालक दलका सदस्यहरू र हुबेबाट फर्केका सबै जनाले विमानस्थलमा स्थापना गरिएको स्वास्थ्य निगरानी कक्षमा गएर पुन: तापक्रम मापनजस्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। उनीहरू उत्रिएपछि उक्त विमानलाई पनि क्वारन्टीनमा राख्ने कतिपयले बताएका छन्। तर निगमकी प्रवक्ताले त्यसबारे स्पष्ट विवरण दिइनन्। उनले त्यसबारे उच्च स्तरबाटै निर्णय हुने बताइन्।
कोरोनाभाइरस
उद्धारको तयारीका लागि खटिएका स्वास्थ्य मन्त्रालय र सुरक्षा निकायका अधिकारीहरूका अनुसार विमानस्थलबाट भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट आएका सबैलाई बसबाट लगिनेछ।उनीहरूलाई लिएर जानका लागि पाँचवटा पर्यटक बस तयार अवस्थामा राखिएका छन्।चालक र उनका सहयोगी बसको क्याबिनमा बस्ने र त्यो क्याबिनमा चीनबाट आएका कसैको पनि सम्पर्क नहुनेगरी सिसाको ढोकाले बन्द गरिएको अधिकारीहरू बताउँछन्। त्यसका साथै चालक र सहयोगीलाई सङ्क्रमण रोक्ने ज्याकेट र मास्क दिइनेछ।

क्वारन्टीनमा कोको बस्छन्

विमानस्थलबाट खरिपाटी पुर्‍याउने बसका चालक र सहयोगीले क्वारन्टीनमा बस्नुपर्दैन। अधिकारीहरूका अनुसार सबै मानिस ओर्लिएपछि त्यहाँ विशेष किसिमले बसको सफाइ हुनेछ। त्यसपछि मात्र उनीहरूले बाहिर निस्किन पाउनेछन्। हालसम्मको तयारीअनुसार उनीहरूलाई क्वारन्टीनमा राखिनेछैन। तर चीन जाने नेपाली सेनाका चिकित्सक र चालकदलका सदस्यहरूलाई क्वारन्टीनमा राख्ने तयारी गरिएको छ। त्यसका लागि तालिम केन्द्रमै एउटा छुट्टै घरको व्यवस्था गरिएको अधिकारीहरूले बताए। तर नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भने त्यसबारे उच्च स्तरबाटै निर्णय हुने भएकाले आफूलाई कुनै जानकारी नभएको बताइन्। चीनबाट आउने सबै मानिस उक्त केन्द्रमा कम्तीमा १४ दिन क्वारन्टीनमा बस्नुपर्नेछ।चीनस्थित नेपाली दूतावासले त्यहाँबाट आउने नेपालीहरूलाई १४ देखि १७ दिनसम्म त्यसरी बस्न सहमति गराइसकेको छ। त्यस क्रममा उनीहरूले आफन्त भेट्न र तोकिएको क्षेत्रबाहिर जान पाउनेछैनन्।बीबीसी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट